‘प्याराग्लाइडिङ पोखराको पहिचान हो, विस्थापन गर्न हुँदैन’ : उम्मेदवार प्रकाश बराल

पोखरा । पोखरा आउने हरेक पर्यटकको रोजाइ र गन्तब्य हो, प्याराग्लाइडिङ । सन् १९९६ देखि यहाँ प्याराग्लाइडिङ उडान सुरु भएको हो । सन् २००० देखि भने व्यावसायिक रुपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका छन् ।

अहिले पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यसमा करिब डेढ अर्ब रुपैयाँको लगानी छ । करिब दुई हजारले रोजगारी पाएका प्याराग्लाइडिङ व्यवसाय निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल सन्चालनसँगै विस्थापित हुने चर्चाले व्यवसायीहरु चिन्तित बनेका छन् ।

यो व्यवसायमा करिब ३ सय ७५ पाइलट आवद्ध छन् । ३ वटा प्याराग्लाइडिङ फ्लाइङ स्कुल, ४ वटा अल्ट्रालाइट कम्पनी र एउटा हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् । पछिल्लो समय साहसिक हवाई खेलकुदले पोखराको पहिचान थपेको छ । प्याराग्लाइडिङ व्यवसाय बन्द वा स्थानान्तरण हुँदा व्यवसायीलाई मात्रै होइन, समग्र पोखराको पर्यटन क्षेत्र नै तहस नहस हुन सक्छ ।

कास्की क्षेत्र नम्बर ३ (ख) बाट उम्मेद्वार बनेका प्रकाश बरालले प्याराग्लाइडिङ पोखराको पहिचान भएकोले विस्थापित गर्न नमिल्ने बताएका छन् ।

‘यही प्याराग्लाइडिङ व्यवसायले सयौं युवाहरुले रोजगारी पाएका छन् । पोखराको अधिकांश पर्यटन यसैले धानेको छ,’ उनले भने, ‘यसलाई विस्थापन गर्ने कुरा सुहाउँदो होइन । अन्तराष्ट्रिय उडान नहुने समय छुट्याएर प्याराग्लाइडिङ निरन्तर चल्नुपर्छ ।’ उनले आफु निर्वाचित भएपछि प्याराग्लाइडिङ विस्थापनको विरुद्ध आवाज उठाउने र सम्बन्धित ठाउँमा पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् ।

आउँदो जनवरी १ देखि अन्तराष्ट्रिय उडान गर्ने नागरिक उड्ययन प्राधिकरणको तयारी छ । त्यसअघि नै प्याराग्लाइडिङ कम्पनीलाई विकल्प खोज्न निर्देशन दिइएको छ । तर व्यवसायीले पोखराबाट प्याराग्लाइडिङ विस्थापन गर्न नहुने अडान राख्दै आएका छन् । उनीहरुले पोखराकै आकाशमा समय मिलाएर उडाउन पाउनुपर्ने माग राखेका छन् ।

उम्मेद्वार बरालले व्यवसायीको माग जायज भएकोले स्थानान्तरण गर्न नहुने बताएका हुन् । ‘प्याराग्लाइडिङ पोखराको फस्टाउँदो ब्राण्ड हो । यहाँ आएका जोसकुै पर्यटक एक पटक प्याराग्लाइडिङमा उडेर हावासँग कावा खान चाहान्छ,’ उनले भने, ‘अन्यत्र सार्दा यसको महत्व घट्न सक्छ । फेवातालमाथी उड्नु र अन्यत्र उड्नुमा त धेरै फरक पर्छ ।’ यही निर्णयले पोखराको पर्यटन क्षेत्र नै ध्वस्त हुन सक्ने भन्दै जिम्मेवार भएर निर्णयमा पुग्न प्राधिकरणलाई उनको आग्रह छ ।

चुनावी घरदैलोका क्रममा लेकसाइड क्षेत्रमा रहेका बरालले पोखराको पर्यटन विकासमा आफ्नो प्रमुख जोड रहेको बताए । उनले फेवातालको नियमित सरसफाई र यसको लाभ समान वितरणमा आफ्नो चासो रहेको सुनाए ।

‘फेवाको घेरोमा फुट ट्रयाक बनाएर पर्यटकलाई घुमाउनुपर्छ । तालको सीमा रहेका सबै क्षेत्रले पर्यटकबाट प्राप्त हुने लाभको उपभोग गर्न पाउनुपर्छ,’ उनले भने, ‘ताल जोगाउने पनि हामी नै हो, यसको लाभ पाउने पनि हामीले नै हो ।’

उनले ताल पुर्ने शिरका खोलाहरुमा चेक ड्याम निर्माण गर्ने र माथिल्लो तटीय क्षेत्रमा बृक्षारोपण गर्ने योजना घोषणापत्रमा उल्लेख गरेका छन् । यस्तै, पर्यटन क्षेत्र कोरोना र भुकम्प लगायत महामारीका कारण शिथिल बनेको भन्दै यसलाई उकास्न सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने बरालको माग छ । निर्वाचित भएपछि संसदमा नियमित रुपमा पर्यटन व्यवसायको हक र हितमा पैरवी गर्ने उनको भनाई छ ।