‘पाँच तिर फर्किएको स्वार्थको गठबन्धन होइन,एमालेको बलियो नेतृत्व चाहन्छन् जनता’

पोखरा,२८ कार्तिक ।
नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनताले पाँच तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेको स्पष्ट पारेका छन् ।  सोमवार  पोखरा ३१ बेगनासका स्थानीयको घरदैलोका क्रममा उनले जनताले स्वार्थको हैन, सिद्धान्तमा चल्ने पार्टी खोजेको भन्दै त्यो पार्टी एमाले नै भएको दावी गरे । उनले भने–‘पाँच दलका स्वार्थ पाँच तिर फर्किएका छन्,त्यो कुरा हाम्रा जनताले बुझेका छन्, त्यसैले जनताले एमालेको बलियो नेतृत्व चाहेका छन् ।’
गुरूङले मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरे । उनले भने–‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ ।’ गण्डकी प्रदेश सभाका निवर्तमान सांसद समेत रहेका उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्ने समेत उल्लेख गरे ।
मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै उक्त क्षेत्रको विकास, निर्माणमा समर्पित हुने उनको प्रण छ  । मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्नेमा जोड दिंदै उनले यसको खाँका र इच्छा शक्ति एमालेसँग मात्र भएको दावी गरे ।
त्यस्तै क्षेत्र नम्वर १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले कास्की जिल्लाका सबै क्षेत्रमा एमाले उम्मेदवार विजय हुने बताउँदै अब केन्द्र र सबै प्रदेशमा एमालेको सरकार हुने बताए ।