पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, १ जना गम्भीर घाइते

जेष्ठ– ०७ पाँचथर

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ । दुई परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ भने १ बालिका घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे ।

मारिनेमा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, ज्वाइँ ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया एक्सा शेर्मा, ३६ वर्षीया जसिता फियाक, २६ वर्षीया मनकुमारी फियाक रहेका छन् । त्यसैगरी ६ वर्षीया इक्सा शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मुकुन्डो लगाएका हतियारधारीले आक्रमण गरेको सीताले बताएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा बमबहादुर फियाकका ४ जना र ज्वाइँ धनराज शेर्माको परिवारका ५ को हत्या भएको प्रहरीले जनाएको छ । राति घटना घटेपनि स्थानीयले बिहान मात्रै थाहा पाएका थिए । घट्नास्थलमा दशमीबजार स्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थलतर्फ लागेको छ ।