स्याङजाको माझकोटमा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

जेठ, २ पोखरा

स्याङजाको वालिङ नगरपालिका वडा नं ३ माझकोटमा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

वडा नं. ३ को कार्यालयले आयोजना गरेको तालिममा वडाभित्रका माझकोट, राम्चे, बुढाकोट, सिङगारकोट लगायतका गाउँबाट ३० जना युवा युवतीहरु सहभागि भएका थिए ।

युवा वर्ग लक्षित आय मुलक उद्घोषण तालिमको समापन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले महिला र पुरुषमा कुनै पनि क्षमताको भिन्नता नरहेको भन्दै अवसर पाएमा जसले पनि प्रगति गर्न सक्ने बताउनुभयो । मान्छे जहिले पनि महान विचार र उच्च लक्ष्यका साथ अघि बढेमा जुनसुकै काममा सफलता हाँसिल हुने उहाँको भनाई छ ।

अब आउने दिनमा महिलाहरु पनि वडा अध्यक्ष र मेयर बन्नका लागि तयार रहनुपर्ने भन्दै उहाँले महिलाहरुलाई अहिलेदेखि नै आफनो व्यक्तित्व र नेतृत्वमा निखार ल्याउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिका कार्यपालिका सदस्य गीता रानपाल, नेकपाका वडा अध्यक्ष थमन गुरुङ, तालिम संयोजक कौबहादुर गुरुङ, प्रशिक्षक रोशनी गुरुङ लगायतले बोल्नुभएको थियो ।

तालिम समापन गर्दै वडा अध्यक्ष सुकराज गुरुङले युवाहरुको बोल्ने बानीको विकास होस भन्ने उद्देश्यले पहिलो पटक वडाले युवाहरुलाई लक्षित गर्दै उद्घोषण तालिम सञ्चालन गरेको भन्दै आउने दिनमा युवाहरुको माग र चासो बढेमा यसप्रकारको तालिमलाई निरन्तरता दिइरहने बताउनुभयो ।

तालिममा मादी न्युज डटकम तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले सहजीकरण गर्नुभएको थियो भने तालिमका प्रशिक्षार्थी यन्सरी गुरुङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।