सरकारी सेवा ‘पेपरलेस’ र ‘फेसलेस’ बनाइन्छ : प्रधानमन्त्री

oli chetawani

बैशाख १९, काठमाण्डौ,

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउने बताउनुभएको छ ।

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ का अवसरमा आइतवार (आज) सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बालुवाटारबाट भर्चुअल रूपमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलिले ‘आम नागरिकलाई कम समय र कम लागतमा विना झन्झट र विना हैरानी सहज, सरल र सुलभ रूपमा सेवा प्रदान गर्न सहज भएको बताउनुभएको छ ।’

प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम र उत्तर–दक्षिण एवम् जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग, निर्माण र विस्तारको कार्य द्रुत रूपमा अगाडि बढाइएको जानकारी गराउनुभयो ।

सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा समग्र विश्व नै एक गाउँमा रूपान्तरण भएको उल्लेख गर्दै प्रधानमन्त्रीले ओलीले आर्थिक सामाजिक रूपान्तरण एवम् दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनीतिको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहँदै आएको बताउनुभयो ।

विश्वव्यापी रूपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले राज्य व्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह एवम् सामाजिक अन्तरक्रियालगायतका विषयमा आधारभूत परिवर्तन आएको उहाँको भनाइ थियो ।

‘समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ का अवसरमा प्रधानमन्त्री सम्पूर्ण नेपालीमा शुभकामनासमेत व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोग, निरन्तर विकास, विस्तार एवम् गतिशिलताबाट प्राप्त अवसरको उच्चतम सदुपयोग गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन लक्ष्य पूरा गर्न सहयोग पु¥याउन आग्रह गर्नुभयो ।