आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

sanchar-mantralaya

बैशाख १९, काठमाण्डौ,

आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ मनाइँदै छ । नेपाल सरकारले समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार भन्ने नाराका साथ यो वर्षको दिवस मनाउँदै छ ।

सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ तारिखमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यो दिवसले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहयोग गर्ने बताउनुभयो ।

उहाँले डिजिटल पूर्वाधार तथा प्रविधिको विकास र विस्तार गरी अर्थतन्त्रमा सञ्चार तथा सूचना प्रविधिको योगदान बढाउन र सुशासन, समृद्धि र विकासका लागि सरकारले डिजिटल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

कोरोना महामारीको समयमा सूचना प्रविधिको माध्यमबाट सचेतना जगाउने कार्यमा सफलता प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको बढ्दो प्रयोग, निरन्तर विकास, विस्तार एवं गतिशीलताबाट प्राप्त अवसरहरुलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सूचना प्रविधिको विकाससँगै हुनसक्ने दुरुपयोगलाई पनि रोक्न सक्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले साइबर सुरक्षा तथा सरकारी तथ्याङ्कको सुरक्षासम्बन्धी विषयमा ध्यान केन्द्रीत हुन आवश्यक रहेको बताउनुभयो ।

डिजिटल प्रविधिको प्रयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी अर्थतन्त्रको बृहत्तर आयामहरुको रुपान्तरण गर्न, विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्न, प्रविधिको प्रयोगलाई विश्वसनीय बनाउन सम्बन्धित पक्षलाई ओलीको आग्रह छ ।

उहाँले नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रुपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।