प्रतिनिधि सभामा उठ्यो रोजगारीदेखि एमसीसीसम्मका विषय

house

चैत ३०, काठमाण्डौ,


प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरूले कोभिड–१९ का कारण देशको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेशन ९एमसीसी० लाई संसदमा बहसमा ल्याउनपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवारको बैठकको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले एमसीसी कहिलेसम्म संसदमा विचाराधीन अवस्थामा रहने भन्दै तुरुन्त संसदमा बहसको विषय बनाउन माग गर्नुभयो ।

सांसद गगनकुमार थापाले कोभिड–१९ का कारण वैदेशिक तथा देशको उद्योग क्षेत्रमा धेरैले रोजगारी गुमाएको भए पनि पुनर्स्थापनाका बारेमा सरकारले प्रभावकारी काम गर्न नसेकेको आरोप लगाउनुभयो ।

सांसद अञ्जना विशङ्खेले राज्य लोककल्याणकारी बनाउन राज्यका निकायलाई स्वायत्त रूपमा काम गर्न दिनुपर्ने बताउनुभयो । अर्का सांसद अनिलकुमार झाले सामाजिक सुरक्षा भत्तालाई सहज र सुलभ बनाउन समस्याका रूपमा रहेको नवीकरणको व्यवस्थालाई सहजीकरण गनुपर्नेमा जोड दिनुभयो ।

सांसद उमा रेग्मीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाइदिने आश्वासन दिने सरकारले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न माग गर्नुभयो । सांसद कृष्णबहादुर राईले अधिकार सम्पन्न एकीकृत वाग्मती समितिको प्रमुखमा धेरै व्यक्ति परिवर्तन भए पनि उद्देश्यअनुसार काम हुन नसकेको बताउनुभयो ।

सांसद खेमप्रसाद लोहनीले वर्तमान सरकारले विकास निर्माणमा तीव्ररूपमा काम गरिरहेको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । सांसद गङ्गा चौधरी सत्गौवाले राष्ट्र निर्माणका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सांसद घनश्याम खतिवडाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर सरकारको राजीनामा माग्ने कुरा उचित नभएको बताउनुभयो ।

सांसद चाँदतारा कुमारीले प्रतिनिधि सभा फेरि विघटन हुने आशङ्काले सांसदहरू नै हतोत्साही अवस्थामा रहेको धारणा व्यक्त गर्नुभयो । अर्का सांसद छक्कबहादुर लामाले सडक सञ्जालले नछोएको एकमात्र जिल्ला हुम्लामा भोकमरी हुन नदिन हवाई माध्यमद्वारा खाद्यान्न ढुवानी बढाउन सरकारसँग माग गर्नुभयो ।