नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्वाचनमा ५ जनाद्धारा उम्मेदवारी फिर्ता/अधिकारीको खुलापत्रले पोखराको पत्रकारिता जगतमा हलचल

FNJ

चैत २१, कास्की,


नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका ५ जना पछि हटेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका २, उपाध्यक्ष, खुला सचिव र खुला सदस्यमा बिहीबार मनोनयन दर्ता गराएका १÷१ जनाले शुक्रबार फिर्ता लिएका हुन् ।
अध्यक्षका प्रत्यासी आरजु विष्ट सल्यानी र एलपी बञ्जरा, उपाध्यक्षका प्रत्यासी माधव पनेरू, खुला सचिवका प्रत्यासी ऋषिकान्त पौडेल र खुला सदस्यमा उम्मेद्वारी दिएका थम्मन थापापछि हटेका हुन् ।
निर्वाचन समितिले २ जनाको उम्मेदवारी बदर गरिदिएको छ । उम्मेद्वार हुन पत्रकार महासंघको सदस्यता लिएको ५ वर्ष पुगेको हुनुपर्छ ।
खुला सदस्यमा उम्मेद्वारी दिएका माधवप्रसाद अधिकारी र माधव पराजुलीको सदस्यता अवधि त्योभन्दा कम भएकाले उनीहरूको उम्मेद्वारी बदर गरिएको भएको हो ।
महासंघ गण्डकीको निर्वाचनमा अब २१ पदमा ३८ जना भिड्ने भएका छन् । अध्यक्षमा दीपेन्द्र श्रेष्ठ र नारायणप्रसाद शर्मा, उपाध्यक्ष खुलामा इन्द्रप्रसाद पौडेल र दीपक भट्टराई, उपाध्यक्ष महिलामा शान्ति गुरूङ र सोनी शर्मा, महासचिवमा गोविन्द सुवेदी र दिल शिरीषबीच प्रतिस्पर्धा हुने भएको छ । सचिव खुलातर्फ प्रकाशचन्द्र भट्टराई र यदुनाथ बञ्जरा उम्मेद्वार छन् । सचिव समावेशीतर्फ रुद्र श्रीषमगर र सुशीलबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र न्यौपाने, शालिकराम कोइराला र सागरराज तिमिल्सिना चुनावी मैदानमा छन् ।
सदस्य खुलामा कृष्ण कँडेल, सुनिल पाण्डे, ताराप्रसाद शर्मा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, भीमपाणी बराल, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार र सूर्य बाँस्तोला उम्मेद्वार छन् । यीमध्ये खुला सदस्य ५ जना चुनिने छन् ।
महिला सदस्यमा कविता श्रेष्ठ, रञ्जिता शर्मा, राधिका शर्मा कँडेल, रोशनी गुरूङ, स्मीता अधिकारी चुनावी मैदानमा छन् । महिला सदस्यमा ५ जनामध्ये ३ जना निर्वाचित हुने छन् ।
दलित सदस्यमा रबिना बोहरा र सानेबहादुर नेपाली (कोइराला) मध्ये १ जना चुनिने छन् । सदस्य मधेसीतर्फ भने कुनै उम्मेदवारी परेको छैन । सदस्य अल्पसंख्यकतर्फ पदम छन्त्याल र श्रीकान्त सापकोटामध्ये १ जना चुनिने छन् ।

यसैबिच कास्कीको पोखराबाट संचालन भैरहेको डनन्युज डट कमका सम्पादक राजेन्द्र अधिकारीले सामाजिक संजालमार्फत एक खुल्लापत्र लेख्दै नेपाल पत्रकार महासंघको केन्द्रीय सचिब पदमा उम्मेद्वारी दिएका रामकृष्ण ज्ञवाली र केन्द्रीय सदस्य पदका उम्मेदवार त्रिभुवन पौडेललाई आफ्नो सम्पत्तिको स्रोत खुलाउन चुनौती दिनुभएको छ ।

उहाँले ज्ञवाली र पौडेल बिरुद्ध मुद्दा हाल्नेलाई मुद्दा लड्ने खर्च आफुले व्यहोर्ने समेत खुल्ला पत्र मार्फत बचन दिनुभएको छ । पत्रकार अधिकारीले लेखेको खुल्लापत्रले पोखराको पत्रकारिता जगतमा यतिबेला हलचल मच्चाएको छ ।