पछिल्लो ४ कारोबार दिनमा मात्रै नेप्से १४९.२८ अंकले बढ्यो

tt

चैत ८, पोखरा ।

साताको पहिलो कारोबार दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज बजार परिसूचक नेप्से ६३.३८ अंकले वृद्धि भएर २५३८.४७ अंकमा पुगेको छ ।

पछिल्लो ४ कारोबार दिनमा मात्रै सेयर बजारमा करिब १५० अंकको ‘बाउन्स ब्याक’ भएको छ । गएको फागुन ९ गते २६४०.३५ अंकको ऐतिहासिक उचाइमा पुगेर ओरालो लाग्न लागेको सेयर बजार चैत २ गते सोमबार २३८९.१९ अंमा झरेको थियो । त्यसपछि ‘बाउन्स ब्याक’ नेप्से पछिल्लो ४ कारोबार दिनमा मात्रै १४९.२८ अंकले बढेको छ ।

नेप्सेसँगै उपसूचकहरुमा पनि हरियाली छाएको छ । म्युचुअल फन्डसहित १३ उपसूचक रहेको नेप्सेमा १३ वटै उपसूचकमा हरियाली छाएको हो । लघुवित्त उपसूचक सर्वाधिक ५.७ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक ५.३६ प्रतिशत, निर्जीवन बिमा उपसूचक ४.५९ प्रतिशत र जीवन बिमा उपसूचक ४.४४ प्रतिशतले बढेको छ । त्यसबाहेक उत्पादन उपसूचक ३.१३ प्रतिशत, अन्य उपसूचक २.९८ प्रतिशत र बजारलाई लिड गर्ने १.५१ प्रतिशतले बढेको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि उकालो लाग्न लागेको छ । गएको साता ३ अर्बमा झरेको कारोबार रकम क्रमशः बढ्दै गएको छ । आज नेप्सेमा ८० हजार ९८६ पटकमा २०६ कम्पनीको १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ९८ लाख २५ हजारको कारोबार भएको छ ।

आज बजारमा कारोबार रकममा नेपाल बंगलादेश बैंकले लिड गर्दा नेपाल लाइफले पछ्याएको छ । नेपाल बंगलादेश बैंकको ३९ करोड ९० लाख २२ हजारको र नेपाल लाइफको ३१ करोड २० लाख ९४ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा स्वरोजगार, मिथिला, सूर्योदय, सामुदायिक र समिट लघुवित्त रहेका छन् । यस्तै, चन्द्रागिरि हिल्स, किसान लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स र युनाटेड इदी मार्दी हाइड्रोपावर रहेका छन् । यता, घलेम्दी हाइड्रो र खानिखोला हाइड्रोको सेयर मूल्य भने ६ प्रतिशतमाथिले घटेको छ ।