अनुमतिको पर्खाइमा १३ हवाई कम्पनी


काठमाडौं : सबै उडान निषेध गरिएको करिब ५ महिनापछि भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान खुलाउने तयारीमा सरकार छ। भदौ १६ अर्थात् सेप्टेम्बर १ तारिखबाट अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णयसँगै १३ वटा हवाई कम्पनी उडान अनुमतिको पर्खाइमा छन्।

नेपालमा नियमित उडान भर्दै आएका थप कम्पनीले पनि अनुमति माग्नसक्ने देखिएको छ। सरकारले यसअघि उडान अनुमति मागेका हवाई कम्पनीलाई निरन्तरता दिने भएसँगै १३ कम्पनी नेपालमा उडानका लागि प्रतीक्षारत छन्। सरकारको अघिल्लो निर्णयअनुसार भदौ १ गतेबाट उडान खुलाउने निर्णयपछि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलगायत १३ हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडानका अनुमति मागेका छन्।

सरकारले पहिलेको उडान अनुमति माग्ने कम्पनीको सूचीलाई निरन्तरता दिने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले अन्नपूर्णपोस्टलाई बताए। नेपाल उडानका लागि निवेदन दिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमा टर्किस एयर, सलाम एयर, इन्डिगो, चाइना साउर्थन, एयर चाइना, जजिरा एयर, फ्लाई दुवई, मलेसिया एयरलाइन्स, मालिन्दो एयर, एयर अरेयिबा र कतार एयरवेज छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तालिका उडान सुरु गर्न तयारी अवस्थामा छ। हाललाई अन्तर्राष्ट्रिय उडानतर्फ दैनिक बढीमा ५ सय यात्रुलाई नेपाल भित्र्याइनेछ। तालिका र चार्टर्ड उडान गरेर दैनिक बढीमा ५ सय यात्रु भनिएको हो। दैनिक एउटा चार्टर्ड उडान हुने हो भने दैनिक एउटा मात्रै तालिका उडान हुनसक्नेछन्। सरकारको निर्णयअनुसार दैनिक ५ सय यात्रु नेपाल भित्रिनेछन् भने दैनिक मुस्किलले २ वा ३ वटा मात्र उडान हुने पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिए। दैनिक उडान संख्या घटेकाले तालिका उडान अनुमति माग्ने सबै कम्पनीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा मन्त्रालय छलफलमा रहेको अधिकारीले बताए। अहिलेसम्म नेपालमा उडान अनुमति मागेका वायुसेवा कम्पनीले आफ्नो अनुरोध रद्ध नगरेकोले पनि सबैलाई व्यवस्थापन गर्ने गरी उडान तालिका बनाइने सचिव अधिकारीले बताए।

सरकारको भदौ २ गतेको मन्त्रिपरिषद् निर्णयले कुवेत, साउदी, अरब र कतारमा तालिका उडान नगर्ने र आवश्यक परेको खण्डमा चार्टर्ड उडान मात्र गर्ने भनेकाले ती देशमा हाललाई तालिका उडानको अनुमति नदिइने प्राधिकरण प्रवक्ता क्षेत्रीले बताए। कोरोना परीक्षण रिपोर्ट (पीसीआर) गर्न सहज नभएका ती मुलुकमा हाललाई तालिक उडान नगरिने उनले जानकारी दिए। पीसीआर गर्न सहज नहुने मुलुकमा हाललाई चार्टर्ड उडानलाई नै

यथावत राखिने सरकारको तयारी रहेको छ।

नेपाल उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले अर्को निर्णय नभएसम्मका लागि भने पर्यटक ल्याउन नपाउने सरकारको निर्णय छ। अर्को निर्णय नभएसम्मका लागि नेपाल उड्ने विदेशी कम्पनीले विदेशमा रहेका नेपाली नागरिक र मकतिक नियोगका प्रतिनिधि मात्र ल्याउन पाउने निर्णय भएको प्रवक्ताको भनाइ छ।

नेपाल आउने हवाई यात्रुले गन्तव्य मुलुकबाट पीसीआर गरेको हुनुपर्ने, नेपाल आएपछि १ हप्ता होटल क्वारेन्टिनमा बस्नुपर्ने, त्यसपछि १४ दिन होम आइसोलेसनमा बस्नुपर्ने जस्ता नियम पालना गर्नुपर्ने हुन्छ। कम्तीमा एक हप्ता होटल क्वारेन्टिनमा बस्नका लागि हवाई टिकटमा नै खर्च लिइने व्यवस्था गरिने बताइएको छ। हवाई टिकट काट्दा नै यात्रुले होटल क्वारेन्टिनका लागि होटल बुकिङको प्रमाण पेस गर्नुपर्नेछ।