खासा क्षेत्रको पोखरी फुट्न सक्ने भोटेकोसी किनारका बस्तीबाट हट्न निर्देशन

साउन ५, सिन्धुपाल्चोक चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको पोखरी फुटेर नेपालमा क्षति पुग्न सक्ने भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।

लगातारको वर्षाले सो पोखरी फुट्न सक्ने सूचना चीनको समकक्षी दोभाषेमार्फत जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ।

‘उक्त पोखरी फुट्न गएमा भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको वहाव अत्याधिक बढ्ने अवस्था छ। त्यसले किनाराका बस्ती डुबानमा पर्नेछन्’, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका लगायत स्थानीय तहहरूका बजार तथा मानव बस्तीहरुलाई बगाउन सक्ने र ठूलो क्षति गर्न सक्ने भएकोले उक्त क्षेत्रमा बस्ने सर्वसाधारण सर्तक रहनु। भोटेकोशी किनारका बासिन्दा  तत्काल उक्त ठाउँ छोडी सुरक्षित ठाउँमा जानुहोस्।’