३ जिल्लामा बाढी पहिरो, १३ को मृत्यु, १९ बेपत्ता

असार २६, बिहीबार रातिबाट परेको अबिरल वर्षका कारण गण्डकी प्रदेशको ३ जिल्लामा ठुलो धनजनको क्षती भएकाे छ ।

म्याग्दी, कास्की र लम्जुङमा १३ जनाको ज्यान गएको र अहिले सम्म १९ जना बेपत्ता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

म्याग्दीमा पुल भाचिएको छ भने कतिपय स्थानमा सडक अवरुद्ध भएका छन् । म्याग्दीमा हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि उद्धारभने हुन सकेन ।

कास्कीमा सबै भन्दा धेरै मानविय क्षती भएको छ । कास्कीमा ७ जना, म्याग्दी र लमजुङमा ३/३ जनाको ज्यान गएको छ भने म्याग्दीमा १९ जना बेपत्ता छन् ।

कास्कीको सराङकोट गोठादीका टंकबहादुर थापा, थापा सहित उनकी श्रीमती सोममाया थापा, २ नाति र छिमेकी इशिका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

त्यस्तै पोखरा–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा ७० बर्षिय हिमकला अधिकारीको ज्यान गएको छ भने त्यसै गरी पोखरा–२६ का दुर्गाबहादुर सुनारको घर पहिरोमा परेर मृत्यु भएको छ ।

लमजुङमा पनि तीनजनाको मत्यु भएको छ भने कास्की र लमजुङमा गरी १६ जना घाइते छन् ।