भारतबाट दैलेख आएका युवाद्वारा आत्महत्या, मृत्युपछि काेराेना पुष्टि ।

असार ११, दैलेखमा आत्महत्या गरेका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो।

आत्महत्यापछि कोरोना पुष्टि भएका युवा जेठ ११ गते भारतको अहमदवादबाट दुल्लु आएका थिए। भारतबाट फर्किएका युवा दुल्लु नगरपालिकामा रहेको पञ्‍चकोशी मावी गमौडीस्थित क्‍वारेन्टाइनमा बसेका थिए। क्‍वारेन्टाइनमा बसेको १४ दिन पछि आरडीटी परीक्षण नेगेटिभ आएपछि उनलाई जेठ २५ गते घर पठाइएको थियो।

क्‍वारेन्टाइनबाट फर्किएको १६ दिनपछि असार ९ गते बेलुकी झुण्डिएको अवस्थामा मृत फेला परेका दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए। आत्महत्या गरेका युवाको शव पोस्टमार्टमका लागि असार १० गते दुल्लु अस्पताल लगिएको थियो।

शव फेला परेको दिन उनको पोस्टमार्टम गरिनुका साथै कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरी कर्णाली प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पठाइएको थियो।

कर्णाली प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजिटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए।

Thahakhabar.com