तनहुँका स्थानीय तहमा नेकपाका एकीकरण कार्य पूरा

बैशाख २, दमौली।
कम्युनिष्ट पार्टी ९नेकपा० तनहुँको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ। नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो।

तनहुँका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुंगो लागेको नेकपा जिल्ला संयन्त्रका सदस्य श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।

व्यास नगरपालिका–१० को अध्यक्षमा साबिक नेकपा माओवादी केन्द्रका हरिविलाश अधिकारी र देवका पौडेलले दाबी गरेका छन् भने शुक्लागण्डकी नगरपालिका–९ मा साबिक नेकपा एमालेका प्रेमबहादुर महत र डिलबहादुर महतले दाबी गरेका छन्।

उक्त वडाका अध्यक्षको टुङ्गो लगाउने जिम्मेवारी साबिकको पार्टीका नेताले नै लिएको श्रेष्ठले जानकारी दिए। बैठकले अन्य सबै वडाका अध्यक्ष र सचिवसहित वडा कमिटीमा रहने सदस्यको पनि टुङ्गो लगाएको छ।

जिल्ला संयन्त्रले केही दिनअघि स्थानीय तहका संयन्त्रलाई वडा कमिटी एकीकरण पूरा गर्न सर्कुलर जारी गरेको थियो। सोहीअनुसार सबै स्थानीय तहले साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका संयन्त्रका सदस्यको भेला गराई वडा कमिटीमा रहनेको नाम जिल्ला संयन्त्रलाई सुझाव दिएको थियो।

वडा कमिटीको एकीकरण पूरा भएपछि अब गाउँपालिका कमिटी र नगरपालिका कमिटीको एकीकरण गरिने सो पार्टीले जनाएको छ। तनहुँका दश स्थानीय तहमध्ये आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिकाको कमिटी एकीकरण पूरा भइसकेको छ।

आँबुखैरेनीमा प्रेम गुरुङ अध्यक्ष र रामबहादुर गुरुङ सचिव तथा ऋषिङमा गञ्जसिंह गुरुङ अध्यक्ष र वीरु थापा सचिव रहेको कमिटी सर्वसम्मत चयन गरी अनुमोदनका लागि जिल्ला संयन्त्र र प्रदेश कमिटीमा सिफारिश गरिएको छ।रासस