पूर्वराजाको गाडी’ले ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

२८ चैत, पोखरा ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् ।

गएराति ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए ।