विन्ध्यवासिनी मा.विमा रक्तदान कार्यक्रम हुने

पोखरा ।

पोखराकै पुरानो विद्यालय वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

विद्यालयको ७३ औं वार्षिकोत्सवको अवसरमा यही पुस २६ गते शनिवार विहान विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको शिक्षक खेमराज पौडेलले जानकारी दिनुभयो ।पोखरामा वेलावेलामा हुने रगतको अभावलाई न्युनिकरण गर्न र रक्तदानका विषयमा जानकारी गराउने उद्घेश्यले पनि रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम गर्न लागिएको हो । नेपाल युवा रेडक्रस सर्कलको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा १६ को सह आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको वताईएको छ ।

पुस २७ गते आयोजना हुने वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना समेत गरेको छ । वार्षिकोत्सवका दिन विन्ध्यवासिनी दर्पण अंक ३ को विमोचन, विभिन्न व्यक्ति, शिक्षक, कर्मचारीको सम्मान एवं पुरस्कार र छात्रवृति वितरण गरिने प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सरकारी विद्यालयमा गण्डकी प्रदेशमै उत्कृष्ट वन्न सफल उक्त विद्यालय २००४ सालमा स्थापना भएको हो ।