प्रमुख कर अधिकृतसंग व्यवसायीको अन्तक्र्रिया

पोखरा ।

पोखरा चेम्बर अफ कमर्स कास्कीलेआन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलको सम्मानमा स्वागत कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख कर अधिकृत पोखरेल तथा उद्योगी र व्यवसायी बीच खुल्ला छलफल समेत भएको छ । प्रमुख कर अधिकृत पोखरेलले उद्योगी व्यवसायीहरुको निम्ति राजस्व तिर्ने कामलाई सहज बनाउने बताए ।

कर दाखिला गनको लागि सहज वातावरणको सिर्जना गर्ने जानकारी दिदै उनले राजस्व तिर्नको लागि लाइन बस्न पर्ने बाध्यताको अन्त्य गर्ने धारणा राखे । आन्तरिक राजश्व कार्यालय करदातामैत्री बनाउने चर्चा गर्दै उनले टोकन सिस्टम सुरुवात गर्ने प्रयास गरेको जनाए ।

कर शिक्षालाई प्रभावकारी बनाउन हरेक महिनाको १५ र ३० गते कार्यालयमा नयाँ करदातालाई सचेतना कार्यक्रम गरेको उल्लेख गर्दै उनले चेम्बर,बस्तुगत संघहरुसंग सामुहिक रुपमा बसेर कर प्रणालीमा देखिएको समस्यालाई हल गर्ने बताए । करको दर नभएर दायरा बढाउनु पर्ने उल्लेख गर्दै उनले राजस्व संकलन गर्ने सेवाका सम्भावना पोखराका प्रशस्त रहेको धारणा राखे । सेवा क्षेत्रमा विलविजक दिने काममा सुधार नभएको दावी गर्दै उनले लाइसेन्स नलिएर मदिराको कारोवार गरेको पाइएको बताए । उनले अझै पनि लुज विल काट्ने प्रचलन भएको दावी गरे ।

पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले चेम्बरले उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य, यातायातको क्षेत्रमा काम गर्ने बताए । उद्योग र व्यवसायको प्रवद्र्धनको लागि तिनतहको सरकारसंग हातेमालो गरेर काम गर्ने जानकारी दिदै उनले आर्थिक क्षेत्रको विकासको लागि चेम्बरले सरकारलाई नीतिगत सुझाव दिने धारणा राखे ।

निजी क्षेत्र तिन खम्बे अर्थतन्त्रको एक पिलर भएको चर्चा गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकारसंग सहकार्य गर्ने बताए । कार्यक्रममा कमर्शका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल र वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, महासचिव उमराज बास्तोला,पोखरा चेम्बर अफ कमर्स कास्कीका उत्तरी क्षेत्रका अध्यक्ष विष्णुप्रसाद बास्तोला, नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका अध्यक्ष कमलप्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।