तमु ल्होछारमा मेयर र उपमेयरको शुभकामना

पोखरा ।

गुरुङ समुदायले पुस १५ गते नयाँ वर्षका रुपमा मनाउने पर्व तमु ल्होछारको अवसरमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले शुभकामना व्यक्त गरेका छन् । जिसी र गुरुङले सोमबार एक शुभकामना सन्देश दिँदै ल्होछारको अवसरमा देश र विदेशमा रहनु भएका सम्पूर्ण गुरुङ दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

‘विविध जातजाति, धर्म, संस्कृति, चाडपर्व र परम्पराको फूलबारी नेपालमा, यस्ता चाडपर्वले आपसमा प्रेम, सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ हुने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

‘अनेकतामा एकता र धार्मिक सहिष्णुता नेपालीको पहिचान हो,’ जिसी र गुरुङको शुभकामना सन्देशमा भनिएको छ,‘एक जातिको संस्कृति र चाडपर्वमा अर्को जातिले पनि मनाउने हाम्रो सामाजिक चलनले सबै जातजातिको भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षणमा टेवा पुगेको छ ।’

यस पर्वको अवसरमा संविधानमा व्यवस्था भए अनुसार सबै नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक हक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न महानगरपालिका कटिबद्ध भएको उल्लेख गरिएको छ ।

‘महानगरको समग्र विकासमा सबै जातजतिको समान सहभागिता गराउन महानगरपालिका प्रतिबद्ध छ,’ सन्देशमा भनिएको छ, ‘गुरुङ समुदायको ऐतिहासिक थलो गण्डकी प्रदेशमा रहनुभएका गुरुङ समुदायसहित सबैमा, फोल्हो (मृग वर्ग) को बिदाइ र च्युल्हो (मुसा वर्गको आगमन), ल्होछारको अवसरमा आशिमलाँ (शुभकामना) व्यक्त गर्दछौं ।’