व्यापार मेलाको प्रभातफेरीमा सहभागि आमा समूहलाई उपहार पनि !

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही पुस १८ देखि २८ गतेसम्म आयोजना हुने समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेलालाई भव्य र सफल बनाउन पोखरास्थित बस्तुगत संघ तथा आमा समूहहरुले प्रतिवद्धता जनाएका छन् ।

संघका उपमहासचिव एवं प्रभातफेरी तथा आमा समूह समन्वय उपसमितिका संयोजक चिनु गुरुङको अध्यक्षतामा सम्पन्न बस्तुगत संघ तथा आमा समूहहरुको छुट्टाछुट्टै बैठकमा सरोकारवाला बस्तुगत संघ र आमा समूहबाट यो प्रतिवद्धता आएको हो ।

उपमहासचिव तथा संयोजक गुरुङका अनुसार बैठकमा सहभागि बस्तुगत संघहरु तथा आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला रमाइलो गर्ने थलो मात्र नभएर उद्यमशीलता सिक्ने माध्यम पनि भएको भन्दै उनीहरुले प्रभातफेरीमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बैठकमा बोल्दै संयोजक गुरुङले पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामूलक नभएर उद्यमशीलता विकासका समर्पित भएको बताएकी थिइन् । उनले मेलामा महिलाहरुबाट उत्पादित बस्तुहरुको प्रदर्शनी र बिक्रीलाई विशेष महत्व दिएको बताइन् । उनका अनुसार प्रभातफेरीमा सहभागि आमा समूहहरुलाई आकर्षक उपहारको व्यवस्था समेत गरिएको छ । उत्कृष्ट सहभागि समूहले छुट्टै पुरस्कार पाउने पनि उनले बताइन् ।

कार्यक्रममा बोल्दै सो उपसमितिकी सदस्य सीता गुरुङले मेला र महोत्सवलाई सिक्ने माध्यम बनाउनु पर्नेमा जोड दिइन् । महिला उद्यमी संघ कास्कीकी अध्यक्ष काशी गुरुङले एकैचोटी कोही व्यक्ति पनि सफल उद्यमी बन्न नसक्ने बताउँदै मेला र महोत्सवहरुबाट सक्दो बढी ज्ञान लिन सबैसँग आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै समितिका सल्लाहकार तथा संघका पूर्वअध्यक्ष बसन्त उदासले महिलाहरुमा भएको व्यवस्थापकी क्षमता उजागर गर्न मेलाले सघाउने धारणा राखे ।