माउन्ट अन्नपूर्ण र कास्की मोडर्नाइज्डलाई

पोखरा ।

कास्की मोडर्नाइज्ड एकेडेमी र माउन्ट अन्नपूर्ण सेकेण्डरी स्कुलले १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार सम्पन्न फाइनलमा छात्रतर्फ कास्की मोडर्नाइज्ड र छात्रातर्फ माउन्ट अन्नपूर्णले प्रतियोगिताको विजेता बन्दै उपाधि जितेको हो ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा कास्की मोडर्नाइज्डले बालकल्याणलाई ५९–४६ अंकले हराउँदै उपाधि जितेको हो । त्यस्तै, छात्रातर्फको फाइनलमा माउन्ट अन्नपूर्णले टप्स बोर्डिङलाई ३१–२४ ले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै विजेता कास्की मोडर्नाइज्ड र माउन्ट अन्नपूर्णले समान १२÷१२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पा¥यो ।

उपविजेता टप्स बोर्डिङ र बालकल्याणले समान ८÷८ हजार, ट्रफी र प्रमाणपत्र पुरस्कार पाए । प्रतियोगिता अन्तर्गत छात्रतर्फ कुमुदिनी होम्स र छात्रातर्फ कास्की मोडर्नाइज्ड तृतीय बन्यो । सोमबार नैे तेस्रो स्थानका लागि भएको खेलमा छात्रतर्फ कुमुदिनी होम्सले ग्लोबल कलेजियटलाई ३८–१५ को फरक अंकले हरायो । त्यस्तै, छात्रातर्फको खेलमा कास्की मोडर्नाइज्डले सरस्वती आदर्श विद्याश्रममाथि १३–१० को रोचक जित निकाल्यो । तेस्रो स्थानको कास्की मोडनाईज्ड र कुमुदिनी होम्सले समान ५÷५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य राजेशकुमार गुरुङ, नेपाल ओलम्पिक कमिटीका बरिष्ठ उपाध्यक्ष तेजबहादुर गुरुङ, गण्डकी प्रदेश सांसद तथा विधायन समिति सभापति मोहनप्रसाद रेग्मीलगायतले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे । छात्रतर्फ कास्की मोडर्नाइज्ड एकेडेमीका मदन गुरुङ र छात्रातर्फ माउन्ट अन्नपूर्णकी सायमी गुरुङ प्रतियोगिताको ‘बेस्ट प्लेयर’ घोषित भए । उनीहरुले ‘बेस्ट प्लेयर’ को ट्रफी पुरस्कार पाए ।

प्रतियोगिताको प्रमुख अतिथि राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा दर्शक अँट्ने प्यारापीटको निर्माण छिट्टै गरिने उद्घोष गरे । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सकिएरको सन्दर्भ उल्लेख गर्दै सदस्य–सचिव सिलवालले एक वर्षपछि पोखरामै हुने नवौं राष्ट्रिय खेलकुदतर्फ परिषदको ध्यान गएको बताए । पोखरा खेलकुदको हब बन्ने बताउँदै सदस्य–सचिव सिलवालले यहाँ बाँकी रहेको खेलकुदका सबै भौतिक संरचनाहरुको निर्माण गर्ने प्रतिबद्धता जनाए ।

यहाँको खेलकुद भौतिक संरचना निर्माण गर्न आफ्नो बसाई पोखरा नै हुने सिलवालको भनाई थियो । उनले भने, ‘खेलकुद विकासका लागि मैले पोखरालाई डेरा बनाएको थिएँ, यहाँ अब मेरो घर नै हुनेछ ।’