म विजयको नजिक छु ः उम्मेदवार पौडेल

पोखरा ।

कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले आफू चनाव विजयको सन्निकट रहेको बताएका छन् । उनले जनताका आकांक्षा र मनोभावनाका साथै कांग्रेस पार्टीप्रति जनताको विश्वासका कारण आफू विजय निकट रहेको स्पष्ट पारे । नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिले बुधबार आयोजना गरेको उम्मेदवारसंगको भेटघाट कार्यक्रममा उनले सरकारका विभिन्न काण्डबाट जनता वाक्क दिक्क भएको भन्दै यस पटक कांग्रेसको जित सुनिश्चित भएको बताए ।

जनताको सोंच पार्टी र व्यक्ति भन्दा निकै माथि पुगिसकेको र विवेकी भइसकेको आफूलाई महसूस भएको उम्मेदवार पौडेलले बताए । उनले यो चुनाव कांग्रेसको प्रतिष्ठाको विषय भएकाले पनि निकै महत्वपूर्ण भएको स्पष्ट पारे । ‘यो चुनाव पार्टीले जित्ने हो । म त निमित्त मात्रै हो । मैले यो चुनावलाई अवसरको रुपमा लिएको छु र चुनाव जित्छु भन्ने कुरामा पनि ढुक्क छु’, उलले भने । मानिसको आदर्श र विचार कहिल्यै बुढो नहुने भन्दै उन्दै उनले आफूलाई उमेरले केही फरन नपारेको बताए ।

‘विपि कोइराला पनि विचार र आदर्शको अगाडि उमेर केही होइन, उमेरले विचार र आदर्शलाई प्रभावित पार्न सक्दैन भन्नुहुन्थ्यो । मेरो पनि मान्यता यही हो’, पौडेलले भने, ‘अबको बाँकी जीवन समाजसेवामै लगाउने अठोट लिएर मैदानमा ओर्लिएको छु ।’उम्मेदवार पौडेलले धादिङ समितिको यो प्रयत्नले धादिङ–पोखरा बीचको सम्बन्ध अझै बलियो र प्रगाढ बन्ने स्पष्ट पारे । ‘आफूलाई सहयोग गर्न सिंगो समिति र धादिङ कांग्रेस समेत लागेको जानकारी पाएको थिएँ । यो गुन म कहिल्यै भुल्नेछैन’, उनले भने ।

कांग्रेस नेता रामनाथ अधिकारीले कांग्रेसले जित्न सकेमात्रै लोकतन्त्र बलियो हुने भन्दै यो चुनाव देश र कांग्रेसका लागि निकै महत्वपूर्ण भएको बताए । निष्ठा र त्यागका प्रतिमूर्ति खेमराज पौडेललाई जिताउन सबै पंक्ति एकढिक्का गएर लाग्न उनले निर्देशन दिए ।नेपाली कांग्रेस धादिङका पूर्व पार्टी सभापति एवं पूर्व सांसद रामनाथ अधिकारीले भने, ‘खेमराज जत्तिको नेता अबको नेपाली राजनीतिले पाउँदैन । उहाँलाई अघि बढाउने र उहाँका आदर्श राजनीतिमा स्थापित गर्ने यो महत्वपूर्ण अवसर हो । त्यसैले यो चुनाव कांग्रेसले जित्नुपर्छ ।’

नेपाली कांग्रेस धादिङका पार्टी सचिव विनोद तिमिल्सिनाले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रको चासो कास्की–२ मा रहेकाले यो चुनावले नेपाली राजनीति र नेपाली कांग्रेसको रणनीतिलाई निकै फेरबदल गर्ने दावी गरे । कांग्रेसले यो चुनाव जित्न सके मुलुक सही ढंगले अघि बढ्ने उनको दावी थियो । समितिका निवर्तमान सभापति केदार धमलाले कास्की कांग्रेसको चुनावमा धादिङ्गेको सहयोग र साथ विगतमा पनि थियो, अहिले पनि छ र भविष्यमा पनि हुने बताए । उनले उम्मेदवार पौडेललाई जिताउन सबै साथीहरू खटिएको बताए ।

समितिका सभापति लाल प्रसाद पाठकले उम्मेदवार पौडेललाई जिताउन जस्तोसुकै सहयोग पनि गर्न तयार रहेको भन्दै अबको केही दिन पनि सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता जनाए । समितिका सचिव माधव लम्सालले यो चुनाव कांग्रेसका लागि गर र मरको अवस्थामा रहेकाले चुनावी अभियानमा सक्रियतापूर्वक लागेको बताए ।