मुलकले कम्युनिष्ट अतिवाद र अधिनायकवाद थेग्न सक्दैन ः नेता सिंह

पोखरा ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फेरि पनि कम्युनिष्टले नै चुनाव जिते मुलुक भड्खारोमा गएर जाकिने बताएका छन् । कम्युनिष्ट अतिवाद र अधिनायकवाद अब थेग्न नसक्ने भन्दै उनले मुलुकलाई त्यसबाट मुक्त गर्न कांग्रेसलाई जिताउन आग्रह गरे । सोमबार पोखरामा आयोजित चुनावी सभामा नेता सिंहले कालापानी र लिपुलेकमा गएर लम्पसार परेको ओलीको राष्ट्रवादले मुलुकले धेरै वर्ष दुःख पाउने टिप्पणी गरे ।

‘सीमा विवादमा प्रतिपक्षी कांग्रेसले धेरै बोल्यो, जनता आन्दोलनमा उत्रिएर सडकमा आइसक्दा पनि प्रधानमन्त्री ओलीजी झिना मसिना कुरा भन्दै बसिरहनुभएको छ’, उनले भने, ‘उहाँको खोक्रो राष्ट्रवाद अब जनताले पत्याउदैनन् ।’ यतिबेला विश्वको ध्यान कास्की–२ मा रहेको भन्दै उनले यस क्षेत्रबाट कांग्रेसले चुनाव जितेर देश विदेशमा सकारात्मक सन्देश दिन चाहेको बताए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस बसेको हाती भएको भन्दै उठेर मुन्टोमात्र हल्लाउने हो भने सबै तितरवितर हुने बताए । उनले राष्ट्रियताको विषयमा कांग्रेसलाई कसैले पाठ सिकाइरहन आवश्यक नपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीसंग सिधा वार्ता गरेर देखाउन चुनौती दिए । विकास र समृद्धिका जति ठूला र खोक्रा भाषण गरे पनि नेपाल कांग्रेसकै पालामा बनेको गोरेटोमा अघि बढिरहेको भन्दै प्रवक्ता शर्माले ओली सरकार काण्डै काण्ड मच्चाउन उद्धत रहेको बताए ।

उनले कास्की–२ सहित सबै क्षेत्रबाट कांग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सरकारलाई ल्याउन आवश्यक रहेको उनले बताए । ‘सरकारका २१ महिनामा देखिने र चर्चा गर्न लायक कुनै पनि काम छैनन् । कुर्चीमा बसेरमात्र समृद्धिको भाषण मात्र नखोक्दा हुन्छ’, उनले चुनौती दिंदै भने, ‘सरकारले कम्तिमा निर्मला पन्तको हत्यारा समातेर कार्वाही गरेर देखावस् । कम्तिमा वाइडवडीको काण्ड सही के हो बाहिर ल्याउने हिम्मत गरोस् ।’

पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली कांग्रेसको मुख्य शत्रु भ्रष्टाचार, बलात्कार, हिंसा र लम्पसारवाद भएको बताए । उनले जनता करैकरको थुप्रोमा थिचिएर स्वास फेर्न पनि नसक्ने अवस्थामा पुगेको भन्दै यसबाट मुक्ति पाउन पनि कांग्रेसले चुनाव जित्नुपर्ने स्पष्ट पारे । उनले कांग्रेसले कर होइन करको दायरा फराकिलो बनाउने नीति लिएको बताए ।

कांग्रेस नेता देवराज चालिसेले यो चुनाव यो चुनाव पार्टी–पार्टी, उम्मेदवार–उम्मेदवार बीचको होइन भ्रष्टाचारी सरकार–जनताबीचको लडाइँ भएको बताए । उनले भ्रष्टाचारी सरकारलाई परास्त गर्न र लोकतन्त्रको रक्षा गर्नका लागि यो चुनाव निकै महत्वपूर्ण भएको स्पष्ट पारे । उम्मेदवार खेमराज पौडेलले संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै आफूले जनता सामू गरेका वाचा कहिल्यै नभुल्ने बताए ।

कार्यक्रममा पूर्व मन्त्री भीमसेनदास प्रधान, कास्की कांग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु, पोखरा–११ का वडा इकाइ सभापति बोधराज घिमिरे, सचिव वसन्त कोइराला लगायतले बोलेका थिए ।

कास्कीको चुनाव २ हजार ४०० मत अन्तरले जित्छौं ः प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की–२ को चुनाव २ हजार ४०० मत अन्तरले कांग्रेसले जित्ने दावी गरेका छन् । चुनावी प्रचारका लागि आइतबार पोखरा आएका प्रवक्ता शर्माले नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन् । ‘सबै प्रकारले हेर्दा २ हजार ४०० मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं । म पनि पोखरा आइपुगेको छु’, उनले भने ।

प्रवक्ता शर्माले कास्कीको चुनाव जित्ने आधार समेत प्रस्तुत गरे । ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिष्ट सरकारले गरेका गलत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरूको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन्’, उनले भने ।

यसै प्रसंगमा प्रवक्ता शर्माले मान्छे बुढो हुँदैमा सांसद बन्न नपाउने भन्ने नभएको टिप्पणी गरे । उनले भने, ‘डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति बन्नुभयो । प्रधानमन्त्री ओली पनि ७० वर्ष आसपासमै हुनुहुन्छ ।’ उम्मेदवार खेमराज पौडेलको उमेरको सवाल भन्दा उहाँले दिने सन्देश महत्वपूर्ण हुने उनले स्पष्ट पारे । आफू चुनाव प्रचार अभियानमा लाग्दै गर्दा दशैभर कांग्रेसको पक्षमा लहर आएको समेत उनले दावी गरे ।

उनले राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा होइन, सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । ‘यो हाम्रा लागि ऐतिहासिक अवसर हो । सरकारले यथाशीघ्र कुटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ’, उनले भने । उनले सरकार र कम्युनिष्ट पार्टीका नेताहरूले सीमा विवादको जवाफ कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवासंग होइन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग माग्नुपर्ने बताए ।

उनले भारतले आफ्नो नक्सा सार्वजनिक गरिरहेको अवस्थामा नेपालले पनि छिटो भन्दा छिटो आफ्नो आधिकारिक नक्सा सार्वजनिक गर्नेुपर्ने खाँचो औंल्याए । शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर ३ दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह समेत गरे ।

उनले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार रहेको बताए । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढेन उनको भनाइ थियो ।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर कांग्रेस सभापतिले आशङ्का मात्र व्यक्त गरेको बताउँदै उनले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिए । सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशङ्का गरिएको उनले बताए ।

उनले सीमाको सवालमा सत्तापक्ष, प्रतिपक्ष र जनता सबै एकठाउँमा आएको अवस्थामा समस्या समाधान गर्नमा ढिलाई गर्न नहुने बताए । उनले सीमा समस्या समाधान नभएसम्म कांग्रेसले खबरदारी गरिरहने स्पष्ट पारे । पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रवक्ता शर्माले सरकार गठनको यस अवधिमा महंगी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाए । भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैँले छानबिन समिति बनाएको उनले बताए ।

स्व. रवीन्द्र अधिकारी गणतन्त्रवादी हुन्
कांग्रेस प्रवक्ता शर्माले पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनसंगै आफूले घनिष्ट मित्र गुमाउन पुगेको बताए । आफू नेविसंघ र रवीन्द्र अनेरास्ववियुको अध्यक्ष बनेर संगगंगै सहकार्य गरेर अघि बढेको स्मरण गरे । ‘रवीन्द्र अधिकारी एउटा इमान्दार गणतन्त्रवादी नेता हो, वंशवादी होइनन् । उनी वंशवादमा पनि विश्वास गर्दैनन् र एउटा मान्छे, एउटै जीवनमा एकैसाथ गणतन्त्रवादी र वंशवादी हुन सक्दैनन्’, उनले भने । उनले उम्मेदवार विद्याले स्व. रवीन्द्रको उत्तराधिकारी भनेर आफूलाई प्रस्तुत गर्न नमिल्ने टिप्पणी गरे ।

ओली सरकार पूर्ण असफल ः नेतृ राना
नेपाली कांग्रेस नेतृ एवं सांसद विन्दादेवी रानाले केपी ओली सरकार पूरै असफल भइसकेको बताएकी छन् । पोखरामा आयोजित चुनावीसभामा सांसद रानाले भ्रष्टाचार, महिला हिंसा, कर, दण्डहिनता, सुशासन लगायतका विषयमा यो सरकार पूरै असफल भएको र केपी ओलीलाई प्रधानमन्त्रीको पदमा बसिरहने नैतिक हैसियत अब नभएको बताइन् ।

प्रधानमन्त्री ओलीको विकास र समृद्धिको कहाँ र कसरी हो त्यो आफूले बुझ्न नसकेको उनले बताइन् । ‘विकास र समृद्धि भौतिक पूर्वाधार, कृषिजन्य वस्तुको उत्पादन, दैनिक उपभोग्य सामान, युवालाई रोजगारी, धेरै भन्दा धेरै उद्योग धन्दा खोल्ने काममध्ये के–के हो ?’, उनले प्रश्न गरिन् । ‘गत वर्षको बजेटमार्फत सबै नेपालीको बैंकमा खाता हुन्छ भन्ने तर नागरिकता वितरणमा बखेडा झिक्ने सरकारको यो रवैया के हो ः प्रष्ट पार्न आग्रह गर्दछु’, उनको भनाइ थियो । उनले मौलिक हक कार्यान्वयन गर्न पनि सरकारले कानून नबनाएकोमा आपत्ति जनाइन् ।

पोखरा–१५ की चुनावी कमाण्डर समेत रहेकी नेतृ रानाले संविधानमा २३ वटा आयोगको व्यवस्था गरिएको तर सरकार गठन भएको २ वर्ष पुग्दा समेत संविधान कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरिन् । विकास र समृद्धिको नारा घोक्ने सरकारले दैनिक एक हजार ५०० युवा विदेशिएको टुलुटुलु हेरेर बसेको भन्दै उनले लगानीमैत्री, युवा मैत्री वातावरण सृजना गरेर विदेशिएका युवालाई स्वदेशमै काम लगाउनुपर्नेमा उनले जोड दिइन् ।

नेतृ रानाले यो चुनाव नेपाली कांग्रेसलाई जिताएर स्वदेश तथा विदेशमा सन्देश दिन आवश्यक रहेको समेत बताइन् । उनले भनिन्, ‘सरकार हिंडेका बाटाहरू गलत छन्, सच्चिएर लोकतान्त्रिक ढंगले अघि बढ्नुपर्छ भन्नकै लागि भए पनि कांग्रेसले यो चुनाव जित्नुपर्छ ।’ सरकारको गतिविधि ठीक लागेमा नेकपालाई र गलत लागेमा कांग्रेसको रुख चिन्हमा मतदान गर्न उनले आग्रह गरिन् ।

सकियो मतदाता भेटघाट
नेपाली कांग्रेस कास्कीले क्षेत्र नं. २ का सबै मतादातसंगको भेटघाट सकिएको जनाएको छ । ३ चरणमा चुनाव प्रचार अभियान चलाएको कांग्रेसले पहिलो, दोस्रो र तेस्रो चरणमा मतदाता भेटघाट पूरा गरेको जनाएको छ । एक पटक सबै मतादातसंग भेट गरी मतदाताका गुनासो सुन्ने र पार्टीको धारणा स्पष्टसंग राख्ने काम भएको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार अब चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता सार्वजनिक गरिनेछ ।