देवु नेपालीलाई समाजसेवी चन्द्रा मगरको पहलमा ७७ हजार सहयोग

पोखरा, २४ चैत्र
३४ र ३२ वर्षीय अपांगता भएका दुई छोराहरूको लालनपालनका लागि अर्काको बाख्रा चराउँदै आएकी पोखरा महानगरपालिका वडा नं. १३, डिही गाउँनिवासी देवुकुमारी नेपालीको आफ्नै बाख्राको साहु बन्ने सपना पूरा गर्नका लागि सहयोगी हातहरू थपिने क्रम जारी छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५, बेलचौतारानिवासी समाजसेवी चन्द्रा मगरको पहलमा संकलित ७७ हजार ५ सय ४० रुपैयाँ आइतबार फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीलाई हस्तान्तरण गरिएको छ । समाजसेवी मगरले टेलिभिजनमै आएर स्टेशन म्यानेजर अधिकारीलाई सो रकम हस्तान्तरण गरेकी हुन् ।

सहयोग रकम ग्रहण गर्दै अधिकारीले देश तथा विदेशबाट आएको सहयोग रकमले देवु आमाको सपना पूरा गर्न महत्वपूर्ण टेवा पुग्ने भनाइ राखे । अहिले देवु आमाको बाख्रा पालन गरी आफैं मालिक बन्ने सपना पूरा गर्न बाख्राका लागि आवश्यक खोर निर्माण भइरहेको जानकारी दिँदै उहाँले खोर निर्माण सम्पन्न भएपछि बाख्रा किनेर हस्तान्तरण गर्ने योजना बनाएको बताए ।

सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै अधिकारीले अझै पनि देवु आमाको बाख्राको मालिक बन्ने सपना पूरा गर्न सहयोग आवश्यक रहेको उल्लेख गरे । समाजसेवी चन्द्रा मगरले टेलिभिजन र युट्युबमार्फत् देवु आमाका बारेमा जानकारी पाएपछि आफूले सहयोगी हातहरूको सुझावका आधारमा पहल लिएको धारणा व्यक्त गरिन् । आफूलाई विश्वास गरेर सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत दिइन् ।

आइतबार हस्तान्तरण गरिएको सहयोग रकममध्ये बेलायतनिवासी दिपिन राईबाट २५ हजार, तुल थापामगरबाट १० हजार, रेखा थापामगरबाट १० हजार र नारायण आलेमगरबाट १५ हजार, हङकङनिवासी विपिन थापामगरबाट ५ हजार ५ सय, ब्रुनाइनिवासी भक्त मगरबाट ५ हजार, दक्षिण कोरियानिवासी चन्द्र दर्लामीमगरबाट ५ हजार, तनहुँ, बेलचौतारानिवासी खिमाया थापामगरबाट १ हजार २० र रञ्जु रानामगरबाट १ हजार २० रुपैयाँ रहेको समाजसेवी मगरले जानकारी दिइन् ।

अपांगता भएका दुई छोराहरू शिव र चेतबहादुरलाई हेरचाहका लागि अर्काको बाख्रा हेर्दै आएकी आमा देवुकुमारीका बारेमा फेवा टेलिभिजनको कार्यक्रम “हामीलाई भन्नु छ”मार्फत् प्रसारण भएपछि देश तथा विदेशमा रहेका नेपालीहरुले देवुको सपना पूरा गर्नका लागि सहयोग पठाउन सुरु गरेका थिए ।

उनका लागि हालसम्म ३ लाख २७ हजार १ सय ९० रुपैयाँ सहयोग रकम संकलन भइसकेको फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले जानकारी दिए ।