पोखराका मुख्य चोकमा आकासेपुल ः विद्या

पोखरा ।

कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीलेसृजनाचोकसहित पोखराका मुख्य चोकमा आकाशेपुल बनाउने घोषणा गरेकी छन् । चुनावी घरदैलोका क्रममा सृजनाचोकमा भएको कोणसभामा उनले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्रापिक जाम कम गर्न सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोक लगायतका मुख्य चोकमा आकासेपुल अत्यावश्यक रहेको जनाएकी हुन् ।

कास्की २ मा यसअघि निर्वाचित रवीन्द्र अधिकारीकै पहलमा सिर्जनाचोकमा आकाशे पुलको डिपीआर बनेर बजेटसमेत विनियोजन भइसकेको छ । उनले भनिन्, ‘जितपछि आकासेपुलसहित सुन्दर पोखरा बनाउने अभियानमा जुट्नेछु ।’

नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले २ पार्टी एक भएर जनतामा आएको उल्लेख गर्दै जनताले एकता र समृद्धिको सुरुआतलाई भव्य अनुमोदन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘जनतले एकतालाई अनुमोदन गर्छन् । स्थायी सरकार बनेको छ । विकासले गति लिएको छ । यो गतिलाई निरन्तर राख्य पनि नेकपाको जित जरुरी छ ।

उनले करको बारेमा कांग्रेसले भ्रम सिर्जना गरेको दाबी गरे । कांग्रेसले जितेका नगरपालिकामा भन्दा पोखरामा करको दर बढी भएको पाइए मेयरसहित नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा दिन लगाउने उद्घोष गरे । उनले भने,‘तपाईंहरु ढुक्क हुनुस् कांग्रेसले जितेको नगरमा भन्दा पोखरामा करको दर कम छ । बढी भएको प्रमाणित गर्नुहुन्छ भने नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा गर्न लगाउँछौं ।’

पोखरा ८ का चुनावी कमान्डर नेकपा केन्द्रीय सदस्य शारदाप्रसाद सुबेदी, सोमनाथ बराल, रुद्रनाथ बराललगायतले विकास र समृद्धि संस्थागत गर्नर युवा तथा महिला सशक्तिीकरणका लागि नेकपालाई जिताउन आग्रह गरे ।

शनिबार सृजनाचोकबाट सुरु भएको चुनावी घरदैलो रत्नचोक, फिर्के, नागढुंगा हुँदै चालिसेचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । घरदैलोका क्रममा उम्मेदवार विद्याले वृद्धभत्ता, विधवा भत्ता जस्ता सामाजिक सुरक्षाका योजना ल्याउने पार्टीले वृद्धहरुको सम्मानपूर्वक बाँच्ने आधार बनाइदिएको बताइन् । उनले युवालाई शिक्षा, व्यक्तित्व विकास र रोजगारीको व्यवस्था गर्न समृद्ध नेपाल जरुरी रहेको बताइन् । उनले भनिन्, ‘समृद्धि, विकासबाटै रोजगारीका अवसर सिर्जना र जीवनस्तर उकास्ने मार्गचित्र नेकपासँग मात्रै छ ।’

पोखरा २१ का विभिन्न कमिटी
पोखरा २१ कृष्ती, निर्मलपोखरीमा युवा तथा विद्यार्थी परिचालन कमिटी र बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा पेशागत कर्मचारी परिचालन कमिटी बनेका छन् । अर्जुन भण्डारीको संयोजकत्वमा ५ सय १ सदस्यीय युवा तथा विद्यार्थी परिचालन कमिटी र निर्मलबहादुर अधिकारीको संयोजकत्वमा १ सय १ सदस्यीय बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा पेशागत कर्मचारी परिचालन कमिटी बनेको नेकपा कास्की २ चुनाव प्रचारप्रसार समिति सहसंयोजक झपट रानाभाटले जानकारी दिए ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले पोखराको विकास र समृद्धिको जग नेकपाले राखेकाले यसको मूर्त रुप पनि नेकपाले मात्रै निर्माण गर्न सक्ने जिकिर गरे । विद्यामा नेतृत्व, व्यक्तित्वदेखि प्राज्ञिक सबै क्षमता भएकाले जनताको रोजाइको उम्मेदवार पार्टीले अघि सारेको जनाए । कार्यक्रममा नेकपा पोखरा महानगर कमिटी अध्यक्ष दीपक पौडेल र युवा नेता दिलीप न्यौपानेले पनि बोलेका थिए ।

संवेदना होइन, योग्यताले मैदानमा ः कुसुम
नेकपा कास्की २ को भेलाले २ सय ५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । भेलामा नेकपा नेतृ गायत्री गुरुङ ‘कुसुम’ले विद्यामा रवीन्द्रको क्षमताको प्रतिबिम्ब रहेको औंल्याइन् । उनले विद्या आफ्नै क्षमताले उम्मेदवार बनेको उल्लेख गरिन् । कुसुमले भनिन्, ‘संवेदनाले मात्रै उम्मेदवार हुनु भएको होइन । उहाँमा योग्यता, क्षमता र विकासको रोडम्याप पनि छ ।’ विद्यार्थी र महिला आन्दोलनमा खेलेको भूमिकाको मूल्यांकन गरी पार्टीले उम्मेद्वार बनाएको उनले उल्लेख गरिन् । अम्बिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सीता विक, राधिका शाही योगी, नेकपा नेता कमलमोहन पौडेललगायतले बोलेका थिए ।

ठूली मजुवामा परिचालन कमिटी
पोखरा १५ मा पनि दिनहुँजसो घरदैलो जारी छ । आइतबार ठूली मजुवामा चुनावी घरदैलो तथा कोणसभा गरिएको छ । कोणसभामा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डले नेकपाको सरकार भएकै बखत ठूला योजना सुरु भएको र त्यसलाई अनुमोदन गर्न नेकपा उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमु, पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेल, वडा कमिटी अध्यक्ष भक्तबहादुर खत्री, लगायतले बोलेका थिए । वडामा थपबहादुर थापाको अध्यक्षतामा ५१ सदस्यीय ठूली मजुवा टोल निर्वाचन परिचालन कमिटी बनेको छ ।

३३ मा जनजातिको भेला
पोखरा ३३ मा भएको जनजतिको भेलाले सन्देश पुनको संयोजकत्वमा ३५ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएको छ । कार्यक्रममा नेकपा कास्की सदस्य भीम कार्कीले जनजाति, उत्पीडित, अल्पसंख्यक र पिछडिएकाको आवाज बोल्ने पार्टी नेकपा नै भएको बताए । उनले समतामूलक समाज निर्माणका लागि नेकपालाई जनताले जिताउने विश्वास व्यक्त गरे । भेलामा पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, वडा सदस्य लीलबहादुर श्रेष्ठ र पूर्व गाविस अध्यक्ष यज्ञप्रसाद अधिकारीले बोलेका थिए ।


१६ मा चुनावी अभियान

नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ को महिला समितिले आइतबार भेला आयोजना गरेको छ । भेलाले गुमादेवी अधिकारी गौतमको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन उपसमिति गठन गरेको छ । समितिको उपसंयोजकमा सविना राणा र लालशोभा गुरुङ छन् । उपसमितिले चुनावी अन्तत्र्रिmयासहित प्रचारलाई तीव्र बनाउने जनाएको छ । यहाँ नेकपाले मंसिर ८ र९ गते उम्मेदवारसहित घरदैलो गर्ने जनाएको छ ।

विद्याललाई कलाकारको दरिलो साथ
चुनावी मैदानमा होमिएकी नेकपा उम्मेदवार विद्यालाई सांस्कृतिक प्रस्तुतिसहित कास्कीका कलाकारले मत मागेका छन् ।दिनहुँजसो हुने चुनावी घरदैलो तथा कोणसभामा सांस्कृतिक नृत्य तथा गायनको माध्यमबाट कलाकारले नेकपालाई मत दिन आग्रह गरिरहेका छन् । गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दहाल, तारापति सुवेदी, कृष्ण भण्डारी, शिवहरि ढुंगाना लगायत थुप्रै कलाकार चुनावी अभियानमा रहेको सांस्कृतिक संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।

सोमबार र मंगलबार पोखरा १७ मा उम्मेदवारसहितको घरदैलो हुनेछ । सोमबार बिहान दोबिल्लाबाट मतदाताको घरदैलोमा पुगी प्रगतिटोल, लामतरा हुँदै महतगौंडामा कोणसभा गरिने निर्वाचन परिचालन कमिटी संयोजक सुवास ढुंगानाले बताए । सोमबारै दिउँसो कञ्चन बोरिङ, तीनकुने हुँदै हनुमानटोलसम्म घरदैलो गरी समापन सभा हुने उनले जानकारी दिए ।

मंगलबार सिमलटँुडा, बेलघारी, डेभिजफल, डेमसाइड, बिरौटाचोक लगायतका सभामा घरदैलो, विभिन्न ठाउँमा चुनावी सभा र विरौटचोकमा वडा स्तरीय चुनावी सभा हुने ढुंगानाले जानकारी दिए । मंसिर ४ देखि १० गतेसम्म मतदाता शिक्षाका दिन घरदैलो गरिने निर्वाचन परिचालन कमिटी सहसंयोजक ईश्वरी लम्सालले जानकारी दिए ।