‘समृद्धि र स्थिरताका लागि नेकपा’

पोखरा ।

नेकपा नेता, कार्यकर्ता पोखराका ११ वटा वडामा पार्टीलाई मत मागिरहेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन आग्रह गर्दै नेकपाले घरदैलो र कोणसभा गरिरहेको छ । नेकपा नेता, कार्यकर्ताले लामो समयपछि देशमा स्थिर सरकार बनेर समृद्धिको जग बसेको भन्दै त्यसलाई अनुमोदन गर्न पनि नेकपालाई जिताउन आग्रह गरिरहेका छन् ।

पोखरा १५ मा शुक्रबार भएको कार्यक्रमा नेकपा नेता खगराज अधिकारीले स्थिरता, समृद्धि र नयाँ नेपालको सपना साकार पार्न नेकपाको विकल्प नभएको बताए । उनले पार्टीले दलित र भूमिहीनलाई घरको मालिक बनाउने गरी ऐन निर्माण गरिसकेको उल्लेख गरे । उनले भने, ‘हामी बसपार्क बनाउँछौं, भूमिहीनलाई व्यवस्थित गर्छाैं । अर्काे पटक मत माग्न आउँदा बसपार्क बनिसकेको हुनेछ ।’

नेकपा उम्मेदवार भट्टराईले आर्थिक विकासका लागि आर्थिक स्थायित्व जरुरी भएको बताइन् । नेकपाको दुई तिहाइको सरकार बनेपछि व्यवस्थित विकास र ठूला योजना निर्माण गरी समृद्धिको जग बसेको उनले सुनाइन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले थालेका विकासका योजना र जनताको भरोसा टुट्न नदिनेगरी काम गर्ने उनको भनाइ छ । उनले भूतपूर्व सैनिकहरुका समस्या समाधान लागि पहल गर्ने आश्वासन दिइन् । उनले भनिन्, ‘देश बनाउन भूपूहरुको उल्लेख्य योगदान छ । उहाँहरुलाई परेका समस्या समाधानका लागि हामी प्रतिवद्ध छौं ।’

उनले प्रत्येक गाउँपालिकासँग पोखरा जोड्ने लिंक रोड बनाउने नेतृत्व आफूले लिने बताइन् । उनले जितेर गाउँ नफर्किने भन्ने गुनासो जनतालाई गर्न नदिने प्रविवद्धता गरिन् । शुक्रबारै नेपाल पत्रकार महासंघले आयोजना गरेको अन्तक्र्रियामा उनले आफ्नो जीवन खुला किताब जस्तो रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र सामाजिक न्याय नै आफ्ना मुख्य प्रतिवद्धता भएको उल्लेख गरिन् । भट्टराईले भनिन्, ‘लोकतन्त्र, संसदीय व्यवस्था र पार्टीको मार्गदर्शन अनुरुप काम गर्दै मतदातालाई दिएका आश्वासन व्यवहारमै पूरा गर्ने छु ।’

नेकपा केन्द्रीय सदस्य चूडामणि जंगलीले ‘समृद्ध पोखरा, सुखी पोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताए । कांग्रेसले सरकारको बारेमा भ्रम सिर्जना गरिरहेको आरोप लगाउँदै उनले विकास र समृद्धिको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको बताए ।