लायन्सले गरेको ‘पिस पोस्टर कन्टेस्ट’मा ज्ञानभुमीका अनुप विजेता

पोखरा ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण रेञ्जको आयोजनामा नदिपुरस्थित ज्ञानभुमी माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच ‘पिस पोस्टर कन्टेस्ट’ भएको छ । ‘शान्ति यात्रा’ शीर्षक दिएर आयोजना गरिएको कन्टेस्टमा अनुप नेपाली प्रथम भए ।

त्यस्तै कन्टेस्टमा मनिष थापा दोस्रो भए भने रोशन नेपाली तेस्रो भए । कुल २३ जना विद्यार्थीहरु कन्टेस्टमा सहभागी भएका थिए । विजेताहरुलाई लायन्स क्लब अफ पोखरा अन्नपूर्ण रेञ्जले विशेष पुरस्कारसहित मायाको चिनो हस्तान्तरण गरेको थियो ।

वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुको विशेष आतिथ्यतामा विद्यार्थीहरुबीच यो कन्टेस्ट भएको थियो । कन्टेस्टमा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई उनले शैक्षिक क्रियाकलापसँगै सामाजिक क्रियाकलापमा पनि विद्यार्थी सरिक हुनुपर्ने बताए ।

कन्टेस्टमा लायन्स क्लब अफ पोखरा अन्नपूर्ण रेञ्जका अध्यक्ष पवन प्रजापतिले विद्यार्थीहरुको क्षमता वृद्धिका लागि क्लबले यस्तो कार्यक्रमको आयोजना गरेको प्रस्ट्याए । उनले विद्यार्थीहरु नै भोलीका दक्ष जनशक्ति हुने भन्दै लायन्स क्लब उनीहरुको क्षमता वृद्धिका लागि जतिसुकै बेला पनि सहयोग गर्न तयार रहेको बताए ।

त्यस्तै विद्यालयका प्राचार्य गोबिन्दप्रसाद पौडेलले लायन्स क्लब अफ पोखरा अन्नपूर्ण रेञ्जलाई विशेष धन्यबाद दिए । उनले आफ्ना विद्यार्थीहरुको क्षमतावृद्धिका लागि लायन्सले गरेको कार्यक्रम निकै फलदायी भएको र आगामी दिनमा पनि यस्तै कार्यक्रम लिएर आउन आग्रह गरे ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र पोखरा अन्नपूर्ण रेञ्जका लायन सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।