भारतिय कुश्ती र कव्वडी टोली पोखरामा प्रशिक्षण गर्दै, पूर्वाधार नहुँदा समस्या

पोखरा ।

पोखरा प्राकृतिक र पर्यटकिय शहरका कारण मात्रै अब परिचित छैन पोखरामा भारत लगायत अन्य राष्ट्रका खेलाडीका लागि प्रशिक्षणको केन्द्र बन्दै गएको छ । पोखराको मौसम र यहाँको स्वच्छ वातावरणमा नेपालका मात्रै नभई अन्य विदेशी खेलाडीहरु पनि यहाँ आएर प्रशिक्षण गर्न रमाउन थालेका छन ।

यसै क्रममा मित्र राष्ट्र भारतको कुश्तीर कब्बडीको ५० जनाको टोली पोखरामा प्रशिक्षणका लागि आएको छ । हुन त कुश्तीका लागि पोखरामा खासै त्यस्तो पूर्वाधारको व्यवस्था छैन । पोखरालाई खेलकुद राजधानी शहर बनाउने घोषणा पनि भाषणमा मात्रै सिमित छ । तर पूर्वाधार नभएको अवस्थामा पनि बिदेशी खेलाडी र प्रशिक्षकहरु भ्रमणका लागि मात्रै नभई यहाँको वातावरणमा प्रशिक्षणका लागि आउने क्रम भने जारी नै छ । पोखरामा सबै खेलका अन्तर्राष्ट्रियस्तरका प्रशिक्षण खेल पूर्वाधार हुने हो भने खेल पर्यटनका माध्यम बाट पर्यटकहरुको बसाई लम्व्याउन सकिन्छ भन्ने कुरा टेनिस र क्रिकेट खेलले पनि प्रष्ट पारेको छ ।

अर्को तर्फ इण्डो नेपाल प्रतिष्पर्धा भन्दै धेरै मैत्रीपूर्ण खेलहरु पनि हुने गरेका छन । तर ति खेलहरू भने आधिकारिक रुपमा हुने गरेका छैनन। भारतिय २५ सदस्यिय कुश्ती टोली पोखरा त आयो तर पोखरामा पूर्वाधार नभएका पोखरा रंगशालाको बास्केटबल कोर्टमा प्रशिक्षण ग¥यो । यदि पोखरामा कुश्तीको पूर्वाधार हुन्थ्यो भने धेरै कुश्ती खेलाडीहरु पोखरा आउने बताउँछन कुश्ती टोलीका टिम प्रशिक्षक वाजिर शर्मा .।

उनले कुनै पनि खेलकुदका लागि पोखराको हावापनी निकै सुहाउँदो भएको बताए । ‘पोखराको प्रकृतीले खेलकूदका लागि निकै सुहाउँदो रहेछ त्यसैले पनि हामी पोखरा आएका हौं ।’पोखरामा पहिला पनि आउने गरेको बताउँदै प्रशिक्षक शर्माले पोखरामा प्रशिक्षण गर्दा खेलाडीको ‘स्टामिना’समेत बढ्ने बताउँदै यहाँ कुश्ती र कव्वडी खेलको प्रचार प्रसार गर्ने उद्धेश्य समेत रहेको बताउँछन ।

‘हामी नेपाली र भारतिय खेलाडी विच धेरै मैत्रीपूर्ण खेलहरु आयोजना गर्न चाहन्छौ जसरी भारतमा यि खेलको निकै राम्रो प्रभाव छ त्यो यहाँ पनि होस’ उनले थपे–‘भविष्यमा हामीले धेरै मैत्रीपूर्ण खेलहरु संगै खेलको बिकास र खेलाडी उत्पादन गर्न सक्छौं ।’पोखराको खेल संस्कृती निकै राम्रो लागेको बताउँदै यहाँका मनिसहरु निकै खेलप्रेमी लागेको प्रशिक्षक शर्मा आफ्नो अनुभव सुनाउछन । ‘यहाँको प्रकृती जति सुन्दर छ यहाँका मनिसहरुको मिलनसार स्वाभावले हामीलाई यहाँ आउन मन लागिरहेको छ ।’

हुन त भारतिय मात्रै होइनन अन्य विदेशी खेलाडीहरु पनि पोखरा भने पछि हुरुक्कै हुन्छन । तर अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष गरि खेलका लागि पोखरा ३६५ दिन नै सुहाउँदो छ भन्ने व्यापक प्रचार प्रसारको खाँचो छ । अब पर्यटन हिमाल र प्रकृती संग मात्रै गाँसिएको छैन खेल बाट पनि हजारौ पर्यटक भित्रायाउन सकिन्छ भन्ने कुरा शाहसिक खेलकुद प्याराग्लाइडिङ जस्तै अन्य खेलले पनि हुन सक्छ ।