प्रदेश प्रमुखद्धारा महर्षी गुरुकुल वेद विद्याश्रम भवनको उद्घाटन

पोखरा ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पोखरा–३ नारायणस्थानमा रहेको महर्षी गुरुकुल वेद विद्याश्रमको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । विद्याश्रमले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी प्रदेश प्रमुख कुँवरले शिलालेख अनावरण गरी विद्याश्रमको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

डा. विन्दु काफ्ले स्मृतिमा उनका परिवारजनले विद्याश्रमको भवन निर्माण गरिदिएका हुन् । उद्घाटनपछि प्रमुख अतिथीको मन्तव्य दिँदै प्रदेश प्रमुख कुँवरले गुरुकुलमा राष्ट्रभक्ती, मानवीयता र कठोर अनुशासनपालक शिष्य उत्पादन हुने बताए । गुरुकुलमा विद्या मात्र नभई ज्ञान समेत दिइने भएकाले यस्ता गुरुकुलको महिमा निकै ठूलो रहेको प्रदेश प्रमुख कुँवरको भनाई थियो । ‘विद्या भनेको जानकारी मात्रै हो ।

तर, ज्ञान भनेको कर्मयोग हो’ उनले भने,‘गुरुकुलमा कर्मयोग सिकाइन्छ । जुन कर्मले फल प्राप्ती हुन्छ ।’ स्वर्गीय डा. बिन्दु काफ्लेका परिवारजनले उनको स्मृतिमा गुरुकुलजस्तो शिक्षा दिने संस्थामा सहयोग गरेर ठूलो काम गरेको उल्लेख गरे । ‘मान्छेको मृत्यु अवश्यम्भावी छ । तर, कोही कोही मान्छे मरेर पनि बाँच्छन्’ प्रदेश प्रमुख कुँवरले भने ।

महर्षी गुरुकुल वेद विद्याश्रमको नवनिर्मित डा. विन्दु काफ्ले स्मृति भवन ७० लाखको लागतमा बनेको हो । डा. विन्दु काफ्लेका परिवारबाट ३५ लाख शिक्षा मन्त्रालयबाट १६ लाख रुपैंयाँ र बाँकी रकम विद्याश्रमले आन्तरिक स्रोतबाट जुटाएको थियो ।