दोहोरो सुविधा लिन्छन्, गण्डकी प्रदेशका सचिवहरु

पोखरा ।

गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिवहरुले दोहोरो सुविधा लिएको खुलेको छ । सचिवहरुले नेपाल सरकारले उपसचिव सरह दिने सुविधा बाहेक मन्त्रालयबाट अन्य सुविधा पनि लिने गरेको पाइएको हो ।

मन्त्रालयमा सचिवको रुपमा सरुवा भएर आएका याम प्रसाद पोखरेलले सचिवले पाउने सुविधामा समेत एकमुस्ट रकम आफैले भर्पाई गरेर लिने गरेको फेला परेको छ । मन्त्रालयका लेखा अधिकृत विष्णुहरी तिमल्सिनाका अनुसार सचिव पोखरेलले पाउने एक निजी सचिव सरकारी सेवा (खरिदार) ड्राईभर १, ईन्धन मासिक १० हजार, सवारी मर्मत मासिक ७ हजार उनी आफैले आफ्नै खातामा हाल्ने गरेको खुलेको छ । चालक र नीजि सचिव नियक्त नगरी निजी सचिवको सुविधा बराबरको रकम आफ्नै खातामा हाल्ने गरेका हुन् ।

यसरी सुविधा नलिए पनि रकम लिन पाइने सचिव पोखरेलले दाबी गर्नुभयो । सरकारको र्निणय बमोजिम आफूले सुविधा लिएको पोखरेलको भनाई छ । दिएको सुविधा एकमुस्ट लिन कानुनी रुपमा समस्या नरहेको पोखरेलले जिकिर गरे । तर आर्थिक नियम अनुसार अनुपयुक्त हुने विज्ञहरुको भनाई छ । त्यसैगरी गण्डकी प्रदेशको खर्च समेत मापदण्ड विपरीत हुने गरेको पाइएको छ ।

यसरी सुविधाको नाममा इन्धन शीर्षकबाट रकम दिने तर इन्धनको बिल बुझाएर अलग्गै रकम पनि लिने गरिएको देखिएको छ । मन्त्रालयका सचिव भएका कारण अन्य कर्मचारीहरु पनि सचिवसँग बोल्न नसक्ने हुँदा पोखरेलले मनोमानी गरिरहेको एक कर्मचारीले बताए । यस अघिका सचिवले भने यस्तो सुविधा लिएका थिएनन् ।