२१ औं पोखरा सडक महोत्सवको तयारी शुरु

पोखरा ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले वर्षेनी सञ्चालन गर्दै आएको पोखरा सडक महोत्सवको आगामी २१ औं संस्करणको तयारी शुरु भएको छ । महोत्सवलाई सफल पार्नका लागि रेवानले आगामी सडक महोत्सवका लागि संयोजक तथा सह–संयोजक चयन गरेको छ ।

रेवान पोखराको सम्पन्न पछिल्लो बैठकले समितिका उपाध्यक्ष लक्ष्मण बराललाई संयोजकमा चयन गरेको छ । त्यस्तै, सदस्यद्वय नरेश भट्टराई र वसन्त गौतम सह–संयोजकमा चयन भएका छन् । संरक्षकमा संस्थाका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराईलाई चयन गरिएको रेवान पोखराले जनाएको छ ।

रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक पुषको १३ देखि १७ गते सम्म लेकसाइड क्षेत्रमा सडक महोत्सव गर्दै आएको छ । रेवान पोखरा अध्यक्ष भिमसेन भुजेलको अध्यक्षतामा बसेको बैठकले आगामी पोखरा सडक महोत्सवलाई सफल पार्न बुद्धिजिवी,समाजसेवि, राजनीतिकर्मी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी, स्थानिय क्लव, आमा समुह, सहयोगी दाता, संचारकर्मी एवं सम्पुर्ण शुभेच्छुकहरुलाई रेवान पोखराले आग्रह समेत गरेको छ ।