गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक प्रमाणिकरण

पोखरा ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार प्रमाणिकरण गरेका हुन् ।

विधेयकलाई असोज ८ गते बसेको प्रदेश सभाको बैठकले पारित गरेको थियो । पारित भएको विधेयकलाई असोज १४ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले सोमबार नै पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए ।

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ को व्यवस्था बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत सुरण प्रसाद शर्मा पौडेलका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय संघीय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाइएको छ ।