१७ जना नेपाली काँग्रेसमा प्रवेश

पोखरा ।

पोखरा महानगरपालिका वडा नं ३३ को पुंडिटार(साविक भरतपोखरी गा.वि.स. वडा नं १) मा आज १७ जना व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विजया दशमी, दिपावली तथा छठका अवसरमा पारी आयोजित शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमका अवसरमा विगतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध बलबहादुर थापा, बाबुराम आचार्य, दुर्गा अधिकारी, खेमबहादुर पुन लगायतका व्यक्तिले उक्त पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेपाली काँग्रेसका नेता एवम् महासमिति सदस्य देबराज चालिसेले पार्टीको सदस्यता सहित स्वागत गरेका थिए । नेपाली काँग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्रको स्थापनामा अनवरत संघर्ष गर्दै आएको बताउँदै उनले पार्टीले देश र जनतालाई सर्वोपरी राख्दै अघि बढेको धारणा राखे ।

जनताले दुई तिहाइ नेतृत्वको नेकपाको बर्तमान सरकारबाट धेरै अपेक्षा गरे पनि सबै आशाहरू निराशामा परिणत बनेको उल्लेख गर्दै उनले काँग्रेस प्रतिको विश्वासकै कारण अन्य दलका नेता तथा कार्यकर्ता पनि नेपाली काँग्रेसमा आकर्षित बन्दै गएको बताए ।

महासमिति सदस्य केशरप्रसाद निर्दोषीले सर्वसाधारण एवम् अन्य दलका कार्यकर्ताले काँग्रेस माथि भरोसा एवम् विश्वास गर्दै गएको बताउँदै त्यसलाई आत्मसात गरी अघि बढ्ने उल्लेख गरे ।

नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य विष्णु पौडेलले लोकतन्त्रको रक्षाका लागि प्रत्येक काँग्रेसी कार्यकर्ता एकतावद्ध हुनुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ का संयोजक रामचन्द्र पौडेल, नेपाली काँग्रेस भरतपोखरी इकाईका पूर्व सभापति भोजराज आचार्य, चेतबहादुर महत, बमबहादुर पुन लगायतले बोलेका थिए ।