पोखरको विभिन्न ठाउँमा बाढी

पोखरा ।

गएरातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५०० भन्दा बढी घरपरिवार समस्यामा परेका छन् ।

बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म लगातारको मुसलधारे पानीका कारण खोला उर्लिएपछि रातको समयमा नै सुरक्षित स्थानतर्फ जान स्थानीयवासी बाध्य भएको स्थानीयवासी दानबहादुर विकले जानकारी दिए । बाढीले नयाँबस्ती, डुढेको फाँट, घाटीछिना, ठूलाखेत, बाम्दी, चनौटेसहित पोखरा २४ को कार्कीको तहरालगायत स्थानमा क्षति पु¥याएको बताउँदै उनले लगभग १०० घर उच्च जोखिममा रहेको छ भने ।

फेवातालको सिरमा रहेको सो खोलामा आएको बाढीका कारण स्थानीय बासिन्दा रातभर जाग्राम बसेका र खोलाको कटानले फाँटमा लगाएको सयौँ रोपनी जग्गाको धानबालीसमेत बगाएको दानबहादुरले जानकारी दिए ।

पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाका अनुसार बाढीले भौतिक संरचनामा ठूलै क्षति पु¥याए पनि मानवीय क्षति भने भएको छैन । खोला बढेसँगै बस्ती कटान नियन्त्रणका लागि भरिएका तारजाली बगाएको र पानी पर्ने क्रम निरन्तर भएमा ठूलै क्षति हुने खतरा देखिएको उनले जानकारी दिनुभयो ।

हर्पन खोलाका साथै ठाउँठाउँबाट आएका खहरे खोलाले पामे पोखरा सडक मार्ग अवरुद्ध भएपछि जेसिभी लगाएर बाटो खुलाउने प्रयास गरिएको वडाध्यक्ष तिमिल्सिनाको भनाइ थियो । यसअघि २०७२ सालमा आएको बाढीका कारण उक्त क्षेत्रमा ठूलै क्षति पु¥याएको थियो । बाढीले पोखरा २४ मा टङ्कबहादुर खड्काले सञ्चालन गरेको समाज सुधार कृषि फार्ममा १२५ वटा कुखुरा मर्नाका साथै पामे बजारका तीन घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डुबानमा पर्नेमा पोखरा २४ का पूर्णप्रसाद तिमिल्सिना, दुर्गा तिमिल्सिना र सन्तोष हमालको घरमा पानी पसेको छ । नेपालको चेरापुँजीको नामले परिचित पोखरालगायत आसपासको क्षेत्रमा वर्षात्को समयमा पानी नपरी खेत बाँझै रहेका अवस्थामा अहिले अत्यधिक मात्रामा पानी पर्दा स्थानीयवसासी त्रसित छन् ।