मनोहर क्लबको अध्यक्षमा पुनः रामजी जि.सी. अत्याधिक मतले निर्वाचित

पोखरा, १७ चैत ।

पोखरा महानगरपालिका वडा नं. १४ स्थित मनकामना टोलमा २०५७ सालमा स्थापित मनोहर युवा क्लबको ७ औं अधिवेशन तथा १७ साधारण सभा शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले रामजी जि.सी.को अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति निर्वाचन गरेको छ भने नपुग एक महिला सदस्य भने कार्य समितिले चयन गर्नुपर्ने निर्वाचन कमिटिले जनाएको छ । समितिको उपाध्यक्षमा दीपेन्द्र के.सी., सचिव रविकिरण पराजुली, कोषाध्यक्ष शैलेष बानियाँ, सहसचिवमा मिलन के.सी र सदस्यहरुमा महेश्वर बानियाँ दीपा थापा, पवित्रा थापा सर्वसम्मत चयन भएका थिए भने अध्यक्ष र एक सदस्य पदमा निर्वाचन भएको निर्वाचन कमिटीले जनाएको छ ।

अध्यक्ष पदमा निवर्तमान अध्यक्ष रामजी जि.सी. र ई. मदन अधिकारी बीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा ५८ मत खसेकोमा विजयी रामजी जि.सी.ले ४४ मत प्राप्त गर्दा प्रतिद्वन्दी ई. मदन अधिकारीले जम्मा १४ मत मात्र प्राप्त गरेका छन् । त्यसैगरी सदस्य एक पदमा अमृत के.सी., अमर शाही र राम पराजुली बीच प्रतिस्पर्धा भएको थियो । जसमा विजयी अमृत के.सी.ले ३६ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी राम पराजुलीले १५ मत, अमर शाहीले ६ मत र सदस्यको एक मत रद्ध भएको थियो ।

निर्वाचन कमिटीका संयोजक बोधराज कार्की र सदस्यद्वय ललितबहादुर बानियाँ र रेशम जि.सी.ले निर्वाचनको मतपरिणम घोषणा गरेका थिए । क्लबमा १ सय ६ जना आजीवन सदस्य रहेकोमा शनिवार रात अवेर सुरु भएको निर्वाचन प्रक्रियामा ५८ मत खसेको निर्वाचन कमिटीका संयोजक बोधराज कार्कीले जनाए । साथै निर्वाचित पदाधिकारीहरुलाई सोही राती नै निर्वाचन कमिटिले सपथ ग्रहण समेत गराएको थियो ।

नव निर्वाचित अध्यक्ष रामजी जि.सी.ले क्लबका कार्यहरु जुन गतिमा अघि बढेका छन् त्यसै रुपमा अगाडि लैजाने बताउँदै टोलमा रहेका सम्पूर्ण संस्थाहरु र वडासँग हातमालो गरी अघि बढ्ने बताए ।
बन्दसत्रमा सचिव रविकिरण पराजुलीको वार्षिक कार्य प्रगतिको प्रतिवेदन र कोषाध्यक्ष शैलेष बानियाँको आर्थिक प्रतिवेदन समेत सर्वसम्मत पारित भएको थियो ।

यस अघि अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघीय प्रतिनिधि सभा सदस्य एवं वरिष्ठ उद्योगपति सूर्यबहादुर के.सी.ले पनासमा द्विप गरी गरेका थिए । साथै प्रमुख अतिथि के.सी.ले सोही समयमा क्लबले निर्माण गरेको नवनिर्मित मनोहरपार्कको समेत उद्घाटन गरको थिए । साथै विभिन्न विधामा उल्लेखनीय योगदान पु¥याएका तीन जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेमा शिक्षातर्प पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख जर्ज जोन, सञ्चारतर्फ आदर्श समाज राष्ट्रिय दैनिकक प्रधान सम्पादक एवं स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला र खेलकुदतर्फ पूर्व महिला राष्ट्रिय फुटवल खेलाडी सीता गुरुङ रहेका छन् ।

सोही समारोहमा क्लबलाई खेलकुदमा मेडल हासिल गराउन सफल खेलकुद संयोजक मिलन केसी, पार्क निर्माणमा सहयोगी मनकामना टोलका बुद्धीबहादुर गुरुङ, निर्माण समितिका सदस्यद्वय ईश्वर बानियाँ र दीपा थापा सम्मानित भए । त्यसैगरी पार्क निर्माणका समितिका सल्लाहकारहरु जेवी कुँवर, रामचन्द्र केसी, ललितबहादुर बानियाँ, बोधराज कार्की र रेशम जिसीका साथै अष्टे«लियामा रहेर पनि क्लबलाई सहयोग पु¥याउने पूर्व अध्यक्ष राजु केसी पनि सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीले सम्मान पत्र, पोखरा–१४ का वडाध्यक्ष प्रेमबहादुर कार्की र क्लबका अध्यक्ष रामजी जि.सी.ले टीका लगाएर सम्मान अर्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि के.सी.ले समाज मेरो पाठशाला हो र मैले विद्यालयभन्दा पनि समाजबाट धेरै शिक्षा लिएको बताए । के.सी. आफू राजनीतिक व्यक्ति मात्र नभई धार्मिक व्यक्ति पनि भएको र आफू भगवान शिवभक्त भएको बताए । उनले पृथ्वीमा प्राणी र जलको विशेष सम्बन्ध भएको बताउँदै जल विना मानव सम्भव नभएको समेत जनाए ।

के.सी.ले धर्म र संस्कृतिको नाममा देशमा विखण्डन ल्याउन खोजिएको भन्दै त्यसतर्फ सचेत हुन सबैलाई आग्रह समेत गरे । साथै के.सी.ले आफू पनि यसै वडामा हुर्के वढको र प्रारम्भिक शिक्षा पनि लिएको बताउँदै क्लबले निर्माण गरेको मनोहर पार्कलाई व्यवस्थित गर्ने कार्य लगायत क्लबका अन्य कार्यहरुमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि वडा नं. १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले क्लबले हालसम्म गरेको कामको प्रशंसा गर्दै वडाबाट क्लबले आयोजना गरेका कार्यक्रम र अघि सारेका योजनाहरुमा सक्दो रकम विनियोजन गर्ने बताए ।

कार्यक्रममा विशेष अतिथि एवं सम्मानित व्यक्तित्व शिक्षाविद जर्ज जोनले पृथ्वीनारायण क्याम्पस स्थापना गर्दा छिनेडाँडा मझेरीपाटनको सहयोग रहीरहेको र अहिले यस क्षेत्र सामाजिक क्रियाकलापमा सक्रिय रहेको देख्दा आफू खुशी रहेको बताए ।

विशेष अतिथि एवं सम्मानित व्यक्तित्व आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले क्लबले अधिवेशनको अवसर पारेर आफूलाई सम्मान गरेकोमा आफू मात्र नभई पत्रकार जगत नै सम्मान भएको अनुभव बताए ।

कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार जे.वी. कुँवर, संस्थापक अध्यक्ष एवं सल्लाहकार ललितबहादुर बानियाँ, सल्लाहकार बोधबहादुर कार्की, सल्लाहकार रोमबहादुर कार्की, सल्लाहकार रेशम जि.सी. समाज सुधार आमा समूहकी अध्यक्ष लक्ष्मी जि.सी., मसिना निमावि व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिना, मनकामना मन्दिर संरक्षण समितिका अध्यक्ष बासुदेव बानियाँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका अध्यक्ष रामजी जि.सी.ले स्वागत मन्तव्य राख्दै आफ्नो कार्यंकालमा क्लबका कार्यक्रम र योजना सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सबैसँग आगामी दिनमा पनि सहयोग र सल्लाह दिन आग्रह समेत गरेका थिए ।

क्लबका अध्यक्ष रामजी जि.सी.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रविकिरण पराजुलीले र धन्यवाद ज्ञापन क्लबका संस्थापक अध्यक्ष एवं सल्लाहकार ललितबहादुर बानियाँले गरेका थिए ।