निर्माण व्यवसायीको अपहरण गर्ने चारजना पक्राउ

पोखरा ।

कास्की प्रहरीले निर्माण व्यवसायीको अपहरण गर्ने एक गिरोहलाई वुधवार शान्ती वनवाटीका वाट पक्राउ गरेको छ । अपहरण परेको थाहा पाउने वितीकै अनुसन्धानमा लागेको प्रहरी आधा घण्टामानै अपहरणकारी पक्राउ गर्न सफल भएको हो । पोखरा(६ लेकसाइड बस्ने रत्नबहादुर कार्की ‘जीवन’ को अपहरण गरेको आरोपमा पोखरा–१५ का गौतम थापा, पोखरा–८ का वासुदेव पोखरेल, पोखरा–२ का रोहित सुनार र पोखरा–१० बस्ने प्रेमबहादुर थापा पक्राउ परेका छन् ।

यो समूहले बुधबार बिहान निर्माण व्यवसायी जीवनको अपहरण गरेको थियो । बिहान १०स्५० बजे पोखरा ९ नयाँबजार स्थित जिल्ला समन्वय समितिको भवन अगाडिबाट यो समूहले उनको अपहरण गरेको थियो ।चार जनाको समूहले जीवनलाई जबरजस्ती गाडीमा हालेर पोखरा–९ शान्तिवन लगेका थिए । उनको अपहरण गरेर लग्दा सो समूहले मोटरसाइकल स्कटिङ समेत गरेको थियो ।

यो समूहको नाइके गौतम थापा रहेको प्रहरीले जानकारी दिएको छ ।खबर पाएपछि प्रहरीले शान्तिवन स्थित निर्माण व्यवसायी समितिको कम्पाउण्ड भित्रबाट आधा घण्टामा नै अपहरणकारी समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दान बहादुर कार्कीले जानकारी दिए ।

अपहरणकारीको मिटर ब्याजी धन्दा
प्रहरीको प्रारम्भिक अनुसन्धानमा अपहरणकारीले मिटर ब्याजी धन्दा गर्ने गरेको खुलेको छ । कार्कीको पनि यही विषयलाई लिएर अपहरण भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी राजकुमार केसीले बताए ।

कार्कीले आफूले सापटी लिएको रकमको ब्याज तिरेको प्रहरी समक्ष बयान दिएका छन् । उनले रु १६ लाख सापटी लिएको प्रहरीलाई बताएका छन् ।डिएसपी केसीका अनुसार गौतम थापा नेतृत्वको समूहले कार्कीलाई ज्यान मार्नेसम्मको धम्की दिने गर्दथ्यो। कार्कीले आफूलाई तीन पटकसम्म सोही ठाउँमा लगेर कुट्पिट गरेको बताएका छन् ।

उनीहरुको समूह व्यवसायी कार्कीको घरसम्म पनि पुगेका थिए । मंगलबार साँझ उनीहरु कार्कीको घरसम्म पुगेको अनुसन्धानमा खुलेको छ । कार्की माथि उनीहरुले निगरानी गरिरहेका थिए ।यसरी धम्की दिन थालेपछि कार्कीले प्रहरीलाई पनि जानकारी गराइसकेका थिए । उनले जानकारी गराएपछि प्रहरी निरन्तर उनीसँग सम्पर्कमा नै थियो ।

‘उहाँले हामीलाई पहिले नै जानकारी गराउनु भएको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘जानकारी पाएपछि हामी उहाँसँग निरन्तर सम्पर्कमा थियौँ ।’अपहरणकारीले आफूहरुको प्रहरीदेखि राजनीतिक दलका नेतासँग चिनजान भएको भन्दै तर्साउने गर्थे । पक्राउ परेका चार जना माथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।