बन्दीपुर गाउँपालिकाद्धारा विपन्न समुदायका परिवारको स्वास्थ्य बीमा हुने

पोखरा । ।बन्दीपुर गाउँपालिका भित्र बसोबास गर्ने असहाय एवं आर्थिक रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिका आफैले गर्ने योजनाका साथ कार्यक्रम अगाडि ल्याइएको छ । गाउँपालिकाले विपन्न समुदायका परिवारको स्वास्थ्य बीमा गराउने योजना अगाडि ल्याएको अध्यक्ष पूर्णसिंह थापाले बताएका छन् ।

चालू आर्थिक वर्षमा तीन सय घर परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने लक्ष्यका साथ गाउँपालिका अगाडि बढेको र स्वास्थ्य बीमाका लागि लाग्ने आवश्यक खर्च गाउँपालिकाले नै बेहोर्ने अध्यक्ष थापाले बताएका छन् । आर्थिकरुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट वञ्चित नहुन् भन्नका लागि सो योजना ल्याइएको उनले बताए ।

पाँच जनासम्मको परिवारले स्वास्थ्य बीमाबापत वार्षिक दुइ हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने र गाउँपालिकाले यो योजनामा सात लाख पचास हजार रुपैयाँ शुल्क बेहोर्ने भएको छ । जिल्लामा २०७४ भदौ १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम शुरुवात भएको छ । तनहुँमा हालसम्म १० हजार भन्दा बढि घरधुरी स्वास्थ्य बीमामा आबद्ध भइसकेको बताइएको छ ।

बन्दीपुर गाउँपालिकाका ५ सय २६ घरधुरी स्वास्थ्य बीमामा आबद्ध छन् । दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment