पत्रकार पक्राउको श्रृङखला बिरुद्ध महासंघ चरणवद्ध आन्दोलनमा

पोखरा ।

सर्वोच्च अदालतको आदेशमा हिजो मात्रै रिहा भएका पत्रकार ओम हमाल अदालतको गेटबाटै पुन पक्राउ गरेपछि त्यसको विरोधमा पत्रकार महासंघ कास्की शाखाले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

पत्रकार महासंघ कास्की शाखाले आज पत्रकार ओम हमाललाई पुन पक्राउ गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा बिरोध स्वरुप धर्ना सहित ज्ञापन पत्र बुझाएको छ ।

धर्ना कार्याक्रममा नेपाल पत्रकार महासँघसँग आवद्ध सवै संघ संगठनका प्रतिनिधीहरुले पत्रकार पक्राउको विरोध गर्दै तत्काल विना शर्त ससम्मान रिहा गर्न सरकार समक्ष अनुरोध गरेका छन् । धर्ना कार्यक्रममा वोल्दै महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले कलमजीविको अपहरण शैलिमा भएको पक्राउको विरोध गर्दै तत्काल रिहा नगरे चरणवद्ध आन्दोलन गर्ने धोषणा गरे ।

उनले भने–“कलमसँग सरकार डराएर धरपकड गर्ने हो भने हामी पनि सरकारको गतल कामको विरोध गरिरहन्छौं ।” महासंघ कास्कीका साधारण सदस्य हमाललाई रिहा नगरेसम्म आन्दोलन नरोकिने पनि उनको भनाई थियो । उनले भने–“हामी अहिले पर्ख र हेरको अवस्थामा छौं तत्काल रिहा नगरेमा चरणवद्ध आन्दोलन गर्ने सोचमा महासंघ छ ।”

विप्लव समूहको कार्यकर्ता भएको आरोपमा प्रहरीले भदौ ६ गते उनलाई कास्कीको सिसुवाबाट पक्राउ गरेको थियो । उनलाई रिहाइको माग गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशमा हिजो वेलुकी रिहा हुने वित्तिकै प्रहरीले उनलाई सर्वोच्चको गेटबाटै पक्राउ गरेको हो । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य हमाल जनसञ्चार डटकम अनलाइनका सम्पादक हुन् ।