पिसजोनमा नेपाली सप्ताहमा विविध कार्यक्रम

पोखरा ।

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा नेपाली सप्ताह अन्तर्गत कक्षा युकेजीदेखि कक्षा १० सम्म विविध कार्यक्रम सम्पन्न भएका छन् । जसअन्तर्गत श्रुतिलेखन, निबन्ध लेखन,वक्तृता, हस्तलेखन गराइएको थियो । कक्षागत रुपमा गराइएको प्रतिस्पर्धामा उत्कृष्ट छात्र र उत्कृष्ट छात्रा चयन गरिएको थियो । निबन्ध लेखनमा भने प्रथम,द्वितीय र तृतीय छनोट गरिएको थियो ।

सूचना प्रविधि, हाम्रो संस्कृति हाम्रो पहिचान, बाल अधिकार हाम्रो अधिकार,वातावरण संरक्षणमा हाम्रो दायित्व लगायतका विषयमा कक्षागत रुपमै छुट्टाछुट्टै विषय दिएर निबन्ध लेखन गराइएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए ।

विद्यालयले वार्षिक तालिका अनुसार विभिन्न विषयका सप्ताहअन्तर्गत कार्यक्रमहरु गर्दै आएको छ । यसअघि गत महिना अङ्ग्रेजी सप्ताह पनि सम्पन्न गरिएको थियो । विद्यार्थीलाई सहक्रियाकलापमा सहभागी गराई उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर सञ्चालन गर्ने गरिएको दाहालले जानकारी दिए ।