सहयात्री सहकारीको वार्षिकोत्सवमा शिविर

पोखरा ।

सहयात्री बचत तथा ऋण सहकारीले नवौं वार्षिकोत्सव स्वास्थ्य सचेतना, निशुल्क रक्तजाँच शिविर लगायतका कार्यक्रम गरी शनिबार मनाएको छ । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. नवराज पौडेलले मानव स्वास्थ्यमा केही निराकरण गर्न सकिने र केही नसकिने समस्या आउन सक्ने बताए । उनले खानपान, जीवनशैलीकै कारण आउन सक्ने धेरैजसो समस्या निदान गरी स्वस्थ्य र दीर्घ जीवन बाच्न सकिने औंल्याए ।

डा पौडेलले भने, ‘वंशाणुगत, उमेर, लिंग आदिका कारण आउने समस्या पूरै रोक्न सकिन्न । कुनै एक जनाले धूमपान, मद्यपान गर्दा पनि केही भएन भनी अरुले पनि त्यसै गर्नु मूखर्तापूर्ण हो ।’ उनले ४५ वर्षमुनिका मानिसमा पनि हृदयघात हुने क्रम उच्च रहेको उल्लेख गर्दै यसबारे बेलैमा सजग रहन र सचेतना फैलाउन आग्रह गरे । उनले भने, ‘यो उमेर समूहलाई भएको हृदयघातबाट बाच्ने सम्भावना निकै कम हुन्छ । धूमपान र कोलेस्टोरेल यसका मुख्य कारण देखिएका छन् ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकीका सचिव दुर्गाप्रसाद दवाडीले गण्डकीमा सहकारी ऐन, नियमावली बनिसकेको र कार्यविधि बन्ने चरणमा रहेको जानकारी दिए । उनले गण्डकीमा बैंकभन्दा सहकारीको पहुँच बढी रहेको भए पनि ब्याजदर उच्च भएकाले कृषि क्षेत्रमा दिइने ऋणमा ब्याज अनुदान दिन नसकिएको बताए । दवाडीले भने, ‘सहकारी ब्याज बढी भएकाले किसानले फाइदा पाउदैनन् भन्ने कुरा आयो । तपाईहरु कम ब्याजदरमा किसानलाई ऋण दिनुस्, ब्याज अनुदान दिने कार्यविधि बनाउन पहल पनि गरौं ।’

कास्की जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष वलराम गौतमले सहकारीले समृद्धि अभियानको संज्ञा दिँदै नीति, विधि र प्रविधिलाई टेकेर अघि बढ्न आग्रह गरे । कार्यक्रममा प्याब्सन कास्की अध्यक्ष प्रेमप्रसाद पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका लेखा संयोजक रुद्रनाथ पौडेल, सहकारीका उपाध्यक्ष चिनु रानाभाट, सचिव डा रामजी शर्मा र डा. कृष्णराज अधिकारीले पनि बोलेका थिए । सहकारीका अध्यक्ष डा त्रिभुवन शर्माको अध्ययक्षतामा भएको कार्यक्रममा विद्यावरिधी गर्ने सेयर सदस्य डा कृष्णराज अधिकारी र स्नातकोत्तर गर्ने सेयर सदस्यका छोरीहरु समीक्षा पंगेनी र सृजना ढकाललाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सवमा भएको शिविरमा ३ सय ५ जनाको सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा उनीहरुको मधुमेह र थाइराइड सित्तैमा जाँच गरिएको हो । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले विगतमा शिविरमा रोगको डायग्नोसिसबिना औषधी बाड्ने चलन हटाएर रोग पहिचानपछि मात्र उचित उपचार गर्न शिविरले सहयोग गर्ने बताए । २०७५ सालमा स्थापना भएको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी हालसम्म ७६ शिविर गरिसकेको छ । ती शिविरबाट ५२ हजार बढीले सित्तैमा सेवा लिएको पन्तले जानकारी दिए ।