कर्मचारी र ठेकेदार र जनप्रतिनिधिको मिलेमताेमा चुरे दाेहन

सुर्खेत – चुरे दोहन गरेर नदीजन्य पदार्थ उत्खनन र बिक्री–वितरण भइरहेको स्थानीयहरुको लिखित उजुरीपछि डिभिजन वन कार्यालय सुर्खेतले कार्यक्षेत्रभित्रका तीन नगर र दुई गाउँपालिकासँग पुस अन्तिम साता विवरण माग्यो।

तर, स्थानीय तहहरुले सुरुमा वन कार्यालयलाई विवरण दिन आनाकानी गरे। ‘विभिन्न खोला, नाला तथा घाटहरुबाट ढुंगा, गिट्टी, बालुवा संकलन गर्ने इजाजत पाएका व्यवसायीले चुरे क्षेत्रभित्रका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रभित्रबाटसमेत उत्खनन गरिरहेको उजुरी परेपछि विवरण माग गरेका थियौं’, सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले भने, ‘कुनै पनि स्थानीय तहहरुले पूर्ण विवरण दिएनन्।’ 

वन कार्यालयले खोला, नाला तथा घाटहरुबाट संकलन हुने नदीजन्य पदार्थको परिणाम, संकलन विधि, संकलन तथा उत्खनन गर्न दिइएको स्थानको ‘लोकेसन’ माग गरेको थियो। पटक–पटकको ताकेतापछि पाँचमध्ये तीन स्थानीय तहले वन कार्यालयलाई संकलन गरिने परिणाम र संकलन विधिका विषयमा व्यवसायीसँग गरिएको संझौता उपलब्ध गराए।

स्थानीय तहहरुले नदीजन्य पदार्थ संकलनका लागि व्यवसायीहरुसँग गरेको संझौतामा भनिएको छ– कुटो, कोदालो, गैंची र बेल्चामार्फत मात्रै निर्माण सामाग्री प्रयोग गर्नुपर्ने। सम्झौताविपरीत व्यवसायीहरुले नदी र खोला दोहन गरिरहेका छन्। लेकबेंसी नगरपालिकाले भेरी नदी दोभान, चिंगाड बगर, खहरे खोला, राते खोला र गमखोलामा ढुंगा, बालुवा तथा गिट्टी संकलनका लागि पाँच जना व्यवसायीलाई ठेक्का दिएको छ। तर, नदीजन्य पदार्थ संकलनका लागि व्यवसायीहरुले सम्झौताविपरीत ‘हेभी इक्युपमेन्ट’ प्रयोग गरिरहेका छन्। यस्तो काम जनप्रतिनिधि, कर्मचारी र ठेकेदारको मिलेमतोमा हुँदै आएको छ। 

 

सुर्खेत चुरे क्षेत्रमा पर्छ। राष्ट्रपति चुरे, तराई मधेस संरक्षण विकास समितिको स्वीकृत कार्यविधिमा चुरे क्षेत्रबाट एक किलोमिटर टाढासम्मबाट रोडा, ढुंगा, बालुवा उत्खनन गर्न नपाइने उल्लेख छ।

‘कुनै पनि व्यवसायीले सम्झौताअनुसार काम गरेका छैनन्, जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदी दोहन भइरहेको छ’, गमखोलाका एक स्थानीयले भने, ‘हामीले पटक–पटक उजुरी दिएका छौं, तर, सुनुवाइ भएको छैन।’ भेरी दोभानबाहेकका सबै स्थानहरु धुलियाविट–भेडाबारी सडक अन्तर्गत पर्छन्।

जनप्रतिनिधि र कर्मचारी दैनिक त्यही बाटोमार्फत ओहोर–दोहोर गर्छन्। ‘बाटोमा भेटेरै हामीले नदी दोहनबारे जनप्रतिनिधि र कर्मचारीसँग कुरा राखेका छौं, नगरपालिकामा लिखित निवेदन दिएका छौं’, आरनटुडाका हर्कबहादुर मगरले भने, ‘ठेकेदारसँग मिलेकाले जनप्रतिनिधि र कर्मचारीले हाम्रा कुरा सुन्दैनन्।’  

सुर्खेत चुरे क्षेत्रमा पर्छ। राष्ट्रपति चुरे, तराई मधेस संरक्षण विकास समितिको स्वीकृत कार्यविधिमा चुरे क्षेत्रबाट एक किलोमिटर टाढासम्मबाट रोडा, ढुंगा, बालुवा उत्खनन गर्न नपाइने उल्लेख छ। यहाँका स्थानीय तहहरुले चुरे क्षेत्रको संवेदनशीलता नबुझेरै व्यवसायीलाई नदीजन्य पदार्थ उत्खननको जिम्मा सुम्पिएका छन्। 

लेकबेंसी नगरपालिकाभित्रका नदी र खोला किनारमै व्यवसायीहरुले घुम्ती क्रसर पनि सञ्चालन गरिरहेका छन्। न्यू हरि निर्माण सेवा, विन्देबासिनी कन्ट्रक्सन, गोविन्दबहादुर शाही, लिला बुढा (खनाल)लगायतले नदीजन्य पदार्थ उत्खनन र संकलन गरिरहेका छन्। अनुगमन नहुने भएकाले मापदण्डविपरितका कार्यहरु हुने गरेका छन्। ‘नदी र खोलामा स्काभेटर जस्ता हेभी इक्युपमेन्ट प्रयोग गर्न पाइँदैन्, तर यहाँका अधिकांश खोला, बगरमा उत्खननका ठूला सामग्री प्रयोग भइरहेका छन्,’ सहायक वन अधिकृत शर्माले भने, ‘हामीले नदीको दोहन रोक्न सबै स्थानीय तहलाई पत्राचार गरे पनि सुनुवाइ हुन सकेन।’ 

व्यवसायीहरुले खोला र नदीमै ब्रेकर प्रयोग गरेर प्राकृतिक स्रोत दोहन गरिरहेका छन्। ‘चुरेको संवेदनशीलतालाई नबुझेर कतिपयले नदी र खोलाको बहाव नै परिवर्तन गरेर प्राकृतिक स्रोत दोहन गरिरहेका छन्’, उनले भने, ‘नदीजन्य पदार्थको संकलन र बिक्री–वितरणको अधिकार स्थानीय तहलाई दिइएपछि झनै विकृति पैदा भएको छ।’  

वीरेन्द्रनगर नगरपालिकाले पनि विभिन्न स्थानमा अमानतमा नदीजन्य पदार्थ उत्खनन्, संकलन र बिक्री–वितरण गरिरहेको छ। डिभिजन वन कार्यालय सुर्खेतलाई नगरपालिकाले पठाएको पत्रमा नदीजन्य पदार्थको उत्खनन् र संकलनमा मेसिन उपकरण प्रयोग नगरिएको बताएको छ।

 

‘खोलाको बहाव नै परिवर्तन गर्ने गरेर ब्रेकरले ढुंगा उत्खनन गरिरहेको पाइएपछि ब्रेकर र चालकलाई नियन्त्रणमा लिएका हौं’, इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले भने, ‘हामी प्राकृतिक स्रोतको दोहन रोक्न सक्रियताका साथ लागिरहेका छौं।’

वीरेन्द्रनगर नगरपालिकाले भेरीको झुप्राखोला र भेरीकै गिरीघाट खोलाबाट अमानतमा ढुंगा, बालुवा र गिट्टी संकलनमा जेसीबी, ब्रेकरलगायत ठूला मेसिन प्रयोग गरिएका छन्। स्थानीयहरुले गिरीघाट खोला नजिकको जनकल्याण सामुदायिक वनबाटसमेत नदीजन्य पदार्थ उत्खननको आरोप लगाएका छन्। वनका उपभोक्ताले अवैध उत्खनन् रोक्न माग गर्दै वीरेन्द्रनगर नगरपालिका, डिभिजन वन कार्यालयलगायतमा उजुरी दिएका छन्। 

भेरीगंगा नगरपालिकाले भेरी नदी, छिन्चु खोला र डुङ्गी खोलामा नदीजन्य पदार्थ उत्खननको जिम्मेवारी दिएको छ। यी तीन वटै ठाउँमा व्यवसायीहरुले नदी र खोलामा व्यापक दोहन गरिरहेका पाइएको छ। बुधबार छिन्चुखोलाबाट प्रहरीले ब्रेकरसहित चालकलाई पक्राउ ग-यो। 

‘खोलाको बहाव नै परिवर्तन गर्ने गरेर ब्रेकरले ढुंगा उत्खनन गरिरहेको पाइएपछि ब्रेकर र चालकलाई नियन्त्रणमा लिएका हौं’, इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले भने, ‘हामी प्राकृतिक स्रोतको दोहन रोक्न सक्रियताका साथ लागिरहेका छौं।’ प्रहरीले अवैध घुम्ती क्रसर उद्योग पनि बन्द गराएको छ।

लेकबेंसी नगरप्रमुख गगन सुनारले प्राकृतिक स्रोत दोहन रोक्न अनुगमन संयन्त्रलाई प्रभावकारी बनाइने बताए। ‘पटक–पटक कर्मचारीलाई अनुगमन गर्न निर्देशन दिए पनि प्रभावकारी हुन सकेको छैन’, उनले भने, ‘अब छुट्टै संयन्त्र बनाएर अनुमगन गर्छौं।’