भिमसेनटोलले जित्यो तायमचा नृत्य प्रतियोगिताको उपाधी

पोखरा ।

गाइजात्रा पर्वको अवसरमा पोखरामा आयोजित तायमचा नृत्य प्रतियोगिताको उपाधी भिमसेनटोल तायमचा समितीले जितेको छ । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिता भएको हो ।

जित संगै भिमसेनटोलले नगद ३० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे । विजयी टोलीलाई नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, महेन्द्रपुल तायमचा समितीका अध्यक्ष ओमलाल बड्गामी र तायमचा नृत्य प्रतियोगिताका संयोजक मानकाजी माकाजुले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा दोश्रो हुने तेर्सापट्टी तायमचा समितीले नगद २० हजार शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे । नयाबजार तायमचा समिती तृतिय भए । नयाबजारले नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे । सान्त्वना स्थान हासिल गर्ने रानीपौवाले नगद रु ५ हजार पुरस्कार तथा मायाको चिनो पाए । महिला टोलीको उपाधी भने बागवजार कचाः खलले जितेको छ । बागबजारले जितसंगै नगद १५ हजार र शिल्ड प्राप्त गरेको छ । विधागत रुपमा अन्तर्गत उत्कृष्ट ख्यालीको विजेता रानीपौवा, बाद्यबादन कुँडहर, उत्कृष्ट परि मोहोरियाटोल र उत्कृष्ट जोकर भिमसेनटोलले जितेको छ । विधागत प्रत्यक विजेताले रु २ हजार ५ सय पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराका बिभिन्न टोलका ३० टोलीले प्रतिस्पर्धा जनाएका थिए । जसमा ६ वटा महिला टोली रहेको थियो ।

पोखराको महेन्द्रपुल सडकमा दुइ दिन सम्म चलेको महोत्सवको पहिलो दिन शुक्रबार नेवारी साँस्कृतिक नृत्य, वाजा, तथा साँस्कृतिक कार्यक्रम भएको थियो । लाइभ कन्र्सट अन्र्तगत मौलिक बाजाका लागि ख्यातिप्राप्त लक्ष्य व्याण्ड, तन्त्र व्याण्ड तथा देउराली व्याण्डको प्रस्तुतीमा दर्शकले मनोरञ्जन लिएका थिए । चेतनामुलक मुलक साँस्कृतिक फेशन साले पनि दर्शकलाई मन्त्रमुग्ध पारेको थियो । २० वटा स्टलमा नेवारी खानाको परिकारहरु राखिएको थियो ।

महेन्द्रपुल तायमचा समितीका अध्यक्ष ओमलाल बडगामीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले गरेका थिए । पोखरामा तायमचा नृत्य प्रतियोगिता गर्ने चलन वि.सं २०२६ सालमा शुरु भएको हो । २०३८ सालमा युनेस्को क्लब, २०३९ सालमा सिद्धार्थ क्लब र महेन्द्रपुलका युवाहरुले प्रतियोगिता गराएका थिए । नेवाः खलः कास्कीले २०५६ सालदेखि पोखरामा विभिन्न टोलहरुमा पालैपालो तायमचा नाच प्रतियोगिता आयोजना गर्दै आएको छ । यो पटकको जिम्मा महेन्द्रपुलले पाएको हो ।