विन्ध्यावासिनीको शिव मन्दिरमा गण्डकी प्रदेश प्रमुख

पोखरा ।

गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले पोखरा महानगरपालिका वडा नं. २ स्थित विन्ध्यावासिनी मन्दिरमा रहेको शिव महादेवको दर्शन गरेका छन् । साउनको अन्तिम सोमबार उनले करिब साढे एक घण्टा मुख्य कर्ताको रुपमा मन्दिरमा विधिपूर्वक पूजाआजा गरेका हुन् ।

साउन महिनाको हरेक सोमबार शिव मन्दिरहरुमा दर्शन गर्ने क्रममा प्रदेश प्रमुख कुँवर विन्ध्यावासिनी शिव महादेवको दर्शन गर्न पुगेका हुन् । प्रदेश प्रमुख कुँवरले यस अघि साउन महिनाको पहिलो सोमबार स्याङ्जाको छाङछाङ्दी, दोस्रो सोमबार पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव र तेस्रो सोमबार बैदामस्थित केदारेश्वर महादेवमणीमा दर्शन गरी पूजापाठ गरेका थिए ।

गण्डकी प्रदेशमा आध्यात्मिक पर्यटनको ठूलो सम्भावना रहेको र आफू आध्यात्मिक व्यक्ति भएकाले साउन महिनामा शिवको आराधाना गरेको उनले बताए । ‘अविभावकका हैसियतले प्रदेशवासीको सुस्वास्थ्य, दिर्घायुको कामनासहित पूजाआजा गर्नु मेरो कर्तव्य पनि हो’ प्रदेश प्रमुख कुँवरले भने ।

अघिल्लो वर्ष पनि पाँच वटै सोमबार प्रदेश प्रमुख कुँवरले लमजुङ र कास्कीका विभिन्न शिव मन्दिरहरुमा पुगी विधिपूर्वक पूजाअर्चना गरेका थिए ।