फोनिजको २० औँ स्थापना दिवस

पोखरा ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले नेपालका आदिवासी जनजातिका भाषाहरुलाई कुनै संग्रहालयमा राख्नुपर्ने हो कि भन्ने अवस्था आउने थालेको बताएका छन् ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकी प्रदेश समितिको आयोजना तथा फोनिज कास्कीको सहआयोजनामा सोमबार पोखरामा भएको ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । “आफ्नो भाषा तथा संस्कृतिको जगेर्नाका लागि आफैँ लाग्नुपर्छ ।” उनले भने – “सबै जातजातिका भाषाभाषी तथा रीतिरिवाज हाम्रा सम्पति हुन् ।” सञ्चारमाध्यममा पनि कुनै एक मातृभाषालाई स्थान दिइनुपर्नेमा उनको जोड रहेको थियो । सञ्चारकर्मीहरुले आफ्नै भाषामा अन्तरवार्ता लिन सक्नुपर्ने उनले बताएका छन् ।

त्यस्तै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा संस्कृति जगेर्नाका लागि आदिवासी जनजाति आफैँ सक्रियताका साथ लाग्नुपर्ने बताए । “अरु कसैले भन्दैमा भाषा संरक्षण गर्न सकिदैन, त्यसका लागि हामी आदिवासी जनजातिले नै पहल गर्नुपर्छ ।” उनले भने । नेवारहरुको नेपाल संवतलाई समेत सरकारले राष्ट्रिय संवत भनेर घोषणा गरेपनि घोषणामा मात्र सीमित रहेको उनको भनाई थियो ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिका अध्यक्ष एम.बी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष शान्ति गुरुङ, फोनिजका गण्डकी प्रदेश इन्चार्ज हुम बहादुर गुरुङ, फोनिजका संस्थापक केन्द्रीय उपाध्यक्ष बालकृष्ण काउछा, फोनिज कास्कीका कार्यवहाक अध्यक्ष दिलप्रसाद गुरुङ लगाएतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।