धमाधम पक्राउ पर्दै विप्लवका कार्यकर्ता

चैत – नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि प्रदेश १ का विभिन्न स्थानबाट सो पार्टीका नेताकार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरीले बुधबार बिहान नेकपा विप्लव समूहका मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) लाई सुन्दर हरैंचाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोज केसीले श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार श्रेष्ठलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ। शान्ति प्रक्रियापछि उनी मिर्मिरे एफएमको समाचार शाखा प्रमुखसमेत बनेका थिए। पार्टी विभाजनपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा पुगेका हुन्। यसअघि आइतबार प्रहरीले मोरङको कानेपोखरीबाट विप्लव समूहका कोसी इन्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र ब्युरो सदस्य माधव गौतमलाई पक्राउ गरेको थियो। ती दुवैलाई इलाका प्रहरी कार्यालय धरानम राखिएको छ। कोसी इन्चार्ज श्रेष्ठ र ब्युरो सदस्य गौतमलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सरकारले लगाएको प्रतिबन्धको विरोधमा विप्लव समूहले फागुन ३० मा आह्वान गरेको नेपाल बन्दका क्रममा उदयपुरबाट पक्राउ परेका जिल्ला सदस्य तिलक तामाङलाई पनि अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। फागुन १५ गते धरान ६, पानवारीबाट विप्लव समूहका कोसी ब्युरो सदस्य देवकुमार लिम्बु अत्याधुनिक हतियार एम १६ र एलएमजीसहित पक्राउ परेका थिए। सरकारले प्रतिबन्ध लगाएर धरपकड गर्न थालेपछि विप्लव समूहका नेताकार्यकर्ता भूमिगत भएका छन्। विप्लव समूहका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए। नेकपा पूर्वी कमान्डले सोमबार विज्ञप्ति प्रकाशित गरी बिनाकारण पक्राउ गरिएका कार्यकर्तालाई निसर्त रिहा गर्न माग गरेको थियो। तत्काल रिहा नगरे जनप्रतिरोधमार्फत कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार हुने चेतवानी विज्ञप्तिमार्फत दिइएको छ।

भोजपुरा प्रदेश प्रमुख पक्राउ
विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख बिगा चौरसिया पनि पक्राउ परेका छन्। पर्सा जिल्ला इन्चार्जसमेत रहेका चौरसियालाई वीरगन्ज १९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार उनको तस्बिरसहित विज्ञप्ति जारी गरी यसको पुष्टि गरेको छ। प्रहरीका अनुसार सोमबार उनलाई पक्राउ गरिएको हो।

विभिन्न व्यक्ति तथा संघ संस्थालाई धम्क्याएर चन्दा असुल गरेको र सार्वजनिक शान्ति भंग गरेको आरोप चौरसियामाथि छ। ‘चोरसियामाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा मुद्दा चलाइएको छ,’ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘जिल्ला प्रशासन कार्यालयमा पेस गरी त्यहाँबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।’

प्रदेश ३ मा ५७ जना पक्राउ
प्रहरीले प्रदेश ३ का जिल्लाबाट विप्लव समूहका ५७ जना नेताकार्यकर्तालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी कार्यालय काठमाडाैँ र प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार कारबाही अभियान बढाएसँगै प्रदेश ३ का १३ जिल्लाबाट ५७ पक्राउ परिसकेका छन्।

महानगरीय प्रहरी कार्यालय काठमाडांैका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार २७ जनाविरुद्ध काठमाडौं र ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। ‘काठमाडांैमा १४ र ललितपुरमा १३ जनाविरुद्ध बम विस्फोट, अगजनी तथा हातहतियार खरखजना मुद्दा चलिरहेको छ,’ ज्ञवालीले भने। उनका अनुसार सो समूहका केन्द्रीय नेता हेमन्तप्रकाश वलीसहित काभ्रेबाट पक्राउ परेका थिए। उनीहरूलाई राजधानी ल्याएर मुद्दा चलाइएको छ।

प्रदेश ३ का प्रहरी प्रमुख डिआइजी दीपककुमार थापाका अनुसार बुधबारसम्म प्रदेश प्रहरी मातहतका १० जिल्लाबाट विप्लव समूहका ३० जना कार्यकर्ताका पक्राउ परेका छन्। प्रदेश ३ प्रहरी मातहत उपत्यकाका भक्तपुर ललितपुर र काठमाडौंबाहेक १० जिल्ला पर्छन्। पक्राउ पर्नेमा केन्द्रीय सदस्यदेखि जिल्ला तहका कार्यकर्तासम्म छन्। डिआइजी थापाका अनुसार सबै जिल्लामा कारबाही तीव्र पार्नुका साथै शूक्ष्म किसिमले निगरानी बढाइएको छ। ‘सो समूहका कार्यकर्तालाई पक्राउ गर्न स्पष्ट निर्देशन छ,’ थापाले भने।

प्रदेश ३ मा सबैभन्दा बढी सिन्धुपाल्चोकबाट १७ जना समातिएका छन्। तीन साताअघि चौतारा नगरपालिकाको साँगाचोकबाट पक्राउ परेका उनीहरूलाई राज्यविरुद्धको अपराध अभियोगमा मुद्दा चलाइएको छ। जिल्लास्थित सुरक्षा अधिकारीका अनुसार पक्राउ पर्नेमा जाजरकोट, रुकुम, मकवानपुर, पर्सालगायत जिल्लाबाट सिन्धुपाल्चोकमा संगठन निर्माणमा खटिएका छन्।

यस्तै चितवनमा ८ जना पक्राउ परेको प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताए। मकवानपुरमा सोमबार र मंगलबार गरी दुईजना पक्राउ परेका छन्। धादिङको सिद्धलेकबाट एकजना पक्राउ परेका छन्। रामेछापमा एक केन्द्रीय सदस्यसहित दुईजना पक्राउ परेका छन्। प्रतिबन्धसँगै विप्लव समूहविरुद्ध सरकारले कारबाही तीव्र पारेपछि नेता कार्यकर्ताले कार्यक्षेत्र छाडेका छन्।

कार्यकर्ताको सेल्टर काभ्रे
राजधानी उपत्यकासहित मध्यक्षेत्रमा गतिविधि बढाउन विप्लव समूहले माओवादी जनयुद्धकै शैलीमा आफ्नो सेल्टर काभ्रे बनाउन थालेको छ। अघिल्लो मंगलबार र शनिबार काभ्रेका खानीखोला र रोशी गाउँपालिकाबाट गरेर मध्यक्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो। केन्द्रीय नेता नै सेल्टर लिएर बसेको सूचनाका आधारमा प्रहरीले सर्च तीव्र पारेको छ।

विनोद सुवेदी/विराटनगर, रमेश खतिवडा/दोलखा, रितेश त्रिपाठी/वीरगन्ज