नेपालमै पहिलो पटक मिस्टर दारी हुदैँ

पोखरा ।

नेपालमै पहिलो पटक मिस्टर दारी प्रतियोगिता हुने भएको छ । दारी भएका पुरुषहरुबीचको यो प्रतियोगिता थण्डर प्रोडक्शनले गरेको हो ।

नयाँ कन्सेप्टका साथ हुने प्रतियोगिताको लागि मुलुकका विभिन्न शहरमा अडिसन भइरहेका छन् । विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवलमा सम्पन्न भइसकेको छ । अब कोहलपुर, पोखरा र काठमाण्डौमा बाँकी छ । पोखरामा साउन २८ गते क्लाउड नाइनमा हुने निश्चित भएको छ । साउनको ३२ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ ।

शोको ग्राण्ड फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ । पूर्वबाट नौ जना छानिएका छन् । विराटनगरबाट अमनजंग कार्की, हिमाल राज पराजुली, सृजल घिमिरे, इटहरीबाट उमेश परियार, फैयाज अन्सारी, देवराज ओझा र विर्तामोडबाट सञ्जय लुहागिन, इन्द्रजित आचार्य र सरोज नेपाल अर्को राउण्डको लागि छानिएका छन् । यसैगरी, चितवन अडिसनबाट सुरज अधिकारी र सुवास सागर छानिएका छन् ।

अफिसियल कोरियोग्राफरको रुपमा सनिश शाक्य रहेका छन भने जजको रुपमा फेसन कोरियोग्राफर प्रमोद बंशल रहेका छन् । यो शोको ब्राण्ड एम्बासडर दाह्री ग्याङका एडमिन समेत रहेका अभिषेक राज सिंह थापा रहेका छन् ।

यस शोमा सहभागिताका लागि प्रतियोगीको दारी हुन अनिवार्य छ । उचाई र शारीरिक मोटाईले खासै फरक नपर्ने जनाइएको छ । फाईनलको लागि देशभरको अडिसन बाट ३० देखि ४० जनालाई छनौट गरेर फाइनल राउण्डको लागि काठमाडांैमा विभिन्न प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।