सशस्त्र प्रहरी महानिरीक्षक महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनल यात्राका लागि बिहीबार विभागीय टोली एपिएफ र नेपाल पुलिस तथा न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

सशस्त्र प्रहरीको मुख्यालय हलचोकस्थित भलिबल कोर्टमा बुधबार भएका खेलमा एपिएफ र न्यु डायमन्डले जित निकाल्दै शतप्रतिशत नतिजासहित सेमिफाइनलमा स्थान बनाएका हुन्। समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता पुलिस तथा समूह ‘बी’ को विजेता न्यु डायमन्डले समूह ‘ए’ को विजेता आर्मीविरुद्ध चुनौती प्रस्तुत गर्न लागेका हुन्। 

बुधबारको खेलमा रेश्मा भण्डारीको प्रदर्शनप्रेरित एपिएफले ढोरपाटन ट्रेनिङ सेन्टरलाई सोझो सेटमा पराजित ग¥यो। एपिएफले ढोरपाटनलाई २५–१, २५–१० र २५–२ को लज्जापूर्ण हार चखाएको थियो। एपिएफको रबाफिलो जितमा वुमन अफ दी म्याच घोषित भएकी रेश्मा भण्डारीले सर्वाधिक ८ स्कोर गरिन्।

सोही दिन न्यु डायमन्डले समूहको अन्तिम खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि सोझो सेटमा जित निकाल्दै शतप्रतिशत नतिजा निकालेको थियो। पनामिका राईको प्रदर्शनप्रेरित न्यु डायमन्डले जावलाखेललाई २५–१०, २५–५ र २५–७ ले पराजित गर्याे। लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई  टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

आगामी चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एउटा स्कुटरसमेत जित्नेछन्। विधागत उत्कृष्टअन्तर्गत स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही पाँच हजार नगद पुरस्कार पाउनेछन्।