सरकारले हिटलर शैलीको सिको गर्न खोजेको देउवाको आरोप

पोखरा ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाएका छन् ।

मंगलबार पोखरामा आयोजित नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा सञ्चालित तथा पालिखे परिवारद्धारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले वर्तमान सरकार दुईतिहाइको दम्भमा कानुनहरु बनाउँदै सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाएका हुन् ।

वर्तमान सरकारले हिटलर शैलीको सिको गर्न खोजेको उनको टिप्पणी छ । सन्चार, मानवअधिकार र सेनालाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुले सरकार स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध काम गरिरहेको स्पस्ट भएको उनले बताए । देउवाले प्रजातन्त्र र पत्रकारिता एक अर्काको पुरक भएको बताए । वर्तमान सरकारले सञ्चारमाध्यमलाई नियन्त्रण गर्नका लागि विधयेक लगाएत विभिन्न नीति ल्याइरहेको भन्दै यो नेपाली काँग्रेसका लागि कुनै पनि हालतमा मान्य नहुने उनको भनाई छ ।

कम्युनिष्टहरु मिलेर प्रजातन्त्रको विरुद्धमा लागिरहेको भन्दै वर्तमान सरकारले गर्ने हरेक नकारात्मक कार्यको आफुहरुले विरोध गर्ने उनले कार्यक्रममा बताए । आफुहरुले कुर्सी तथा मेस भाँच्ने गरेर विरोध गर्ने नभएर संसदमा नै शान्तिपुर्ण तरिकाले विरोध गर्ने भनाई देउवाको छ । “हामीले कुर्सी भाँच्ने गरेर विरोध गर्दैनौँ ।” उनले भने – “सरकारको नकारात्मक कार्यको शान्तिपुर्ण तरिकाले संसदबाट नै विरोध गर्छौँ ।”