होटल संघद्वारा हवाई सम्झौताको स्वागत

पोखरा ।

नेपाल र चीन बीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । चीनका १५ विमानस्थलमा नेपाली विमान सेवा कम्पनीले उडान भर्न पाउने सम्झौताले नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने भन्दै संघका अध्यक्ष विकल तुलाचनलेसो प्रगति प्रशंसायोग्य भएको बताए ।

यसैगरी यति एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर सम्म दैनिक सिधा उडान गर्ने तथा पोखराबाटै माउण्टेन फ्लाइट गर्ने घोषणा गरेकोमा त्यस्तो सेवाले उल्लेखित सबै क्षेत्रको पर्यटकीय विकासमा सकारात्मक असर पर्ने भन्दै अध्यक्ष तुलाचनले संघको तर्फबाट खुसी व्यक्त गरेका छन् ।

चीनको राजधानी बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी समझदारी पत्रमा चिनियाँ पक्षले नेपाल एयरलाइन्सलाई कूल १५ विमानस्थलमा उडान अनुमति दिने उल्लेख गरिएको छ । सात वटा विमानस्थलमा उडानका लागि पहिला नै अनुमति भएको र पछिल्लो सम्झौतामा थप आठ विमानस्थलमा उडानको सुविधा प्राप्त भएको जनाइएको छ ।

चीनले नेपालका दुईवटा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक २१ वटा उडान गर्ने निर्णय समेत गरेको छ । सन् २०२० देखि सञ्चालनमा ल्याइने भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीनले आफ्नो अवतरण सुरक्षित गरेको हो ।

बैठकपछि जारी विज्ञप्ति अनुसार यसअघि चीन र नेपालबीच सातामा ७० वटासम्म मात्र उडान गर्न पाउने सहमति थियो । एउटा उडानमा २ सय सिटबराबर सम्झौता हुने भएकाले सातामा १९ हजार ६ सय हवाई यात्रु ओहोरदोहोर गर्न सक्छन् ।सम्झौताअनुसार सातामा चीनका ७ वटा उडान काठमाडौंमा थपिएका छन् ।

यसैगरी आन्तरिक उडानतर्फ यतिले यही साउन १६ गतेबाट भैरहवा, भदौ १५ देखि भरतपुर रुटमा र भदौं २९ गतेदेखि अन्नपूर्ण एक्सप्रेस नाम दिएर माउण्टेन फ्लाइट सेवा सुरु गर्न लागिएको केही दिन अघि पत्रकार सम्मेलन गरी घोषणा गरिएको थियो । भैरहवा र भरतपुर रुटमा बुद्ध एअरले यसअघि देखि नै प्रदान गर्दै आएको सेवाले समेत सकारात्मक प्रभाव परिरहेको संघले बताएको छ ।

अध्यक्ष तुलाचनका अनुसार संघ अन्तर्गतका व्यवसायी र नेपालगंज तथा सिमराका व्यवसायी विच ती क्षेत्रलाई हवाई सेवाले जोड्ने विषयमा समेत छलफल अगाडि बढ्दै गरेको छ । यस्तो प्रयासलाई व्यवहारमा उतार्न नेपालका विमान सेवा प्रदायक र सम्बन्धित निकायको समेत सकारात्मक सहयोगको अपेक्षा संघले गरेको तुलाचनले बताए ।