पुष्पलाल स्मृती दिवसमा पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

पोखरा ।

४१ औ पुष्पलाल स्मृती दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजना तथा नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्कीको सहयोगमा साउन ७ देखि पोखरामा पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता–२०७६ हुने भएको छ । गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्षलाई समेत टेवा पुग्ने गरि बगालेटोलस्थित सोंपाल समाजमा त्रि–दिवसिय ब्याडमिण्टन प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

गत वर्ष सम्म खुल्ला र भेट्रान्सतर्फ गरि चार इभेण्टमा मात्रै प्रतिस्पर्धा गराइदै आएको प्रतियोगितामा यस वर्षदेखि मेन्स डबल्स राष्ट्रिय इभेण्ट पनि थपिएको छ । नेपालको वरियतामा १६ भित्र परेका खेलाडीहरुले मेन्स डबल्स राष्ट्रियमा भाग लिन पाउने छैनन् । राष्ट्रियतर्फनै ४५ प्लस भेट्रान्स खुल्ला, ५५ प्लस खुल्ला तथा गण्डकी प्रदेश स्तरिय मेन्स डबल्स खुल्ला प्रतिस्पर्धा हुने छ । गण्डकी प्रदेश स्तरियमा प्रदेशका शिर्ष पाँच वरियताका खेलाडीलाई समावेश गराइने छैन । त्यस्तै, मेन्स डबल्स खुल्ला कास्की जिल्ला स्तरिय गरि पाँच इभेण्टमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

राष्ट्रिय डबल्समा प्रथम, द्वितिय र तृतीय हुने समुहले क्रमश ः नगद ५० हजार, ३० हजार, १० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । खुल्ला गण्डकी स्तरिय तथा ४५ प्लसमाथि प्रथम, द्वितिय र तृतीय हुने समुहले क्रमश ः नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, ५५ प्लस भेट्रान्स खुल्लातर्फ प्रथम, द्वितिय र तृतीय हुने समुहले क्रमस ः नगद २० हजार, १५ हजार, १० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सपन्न गर्न झण्डै २४ लाख ३० हजार खर्च लाग्ने प्रतियोगिता प्रचार प्रसार समितिका संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिए । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । प्रतियोगितामा झण्डै २ सय ६० खेलाडीहरुले भाग लिने नेपाल राष्ट्रिय बाणिज्य संघका अध्यक्ष सञ्जिबहादुर कोइरालाले जनाए ।

यस्ता प्रतियोगिताहरु खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सिद्ध हुने कार्यक्रम संयोजक चेतन कार्कीले औल्याए । उनले प्रतियोगितालाई निरन्तरता दिन सकिए नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष–२०२०, प्रदेश सरकारले मनाउन लागेको आन्तरिक पर्यटन वर्ष लगायतका कार्यक्रम सफल पार्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।