३७ औं वीपी स्मृतिमा वृक्षरोपण

पोखरा ।

३७ औ वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आइतवार वृक्षरोपण गरेको छ । त्यस अवसरमा पोखरा–११ काँहुमा विभिन्न प्रजातिका ३७ वटा बिरुवा रोपिएको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए । काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले वृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले पार्टीभित्र सत्तालाई मात्र केन्द्रीत गर्दै प्रतिस्पर्धा भैरहेको भन्दै चिन्ता व्यक्त गरे ।

पार्टीभित्र सहमति, सहकार्य र एकता कायम गरी मुलुक र जनताप्रति जिम्मेबार बन्नु पर्नेमा उनले जोड दिए । अर्का केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पूरानै सोच र पूरानै नेतृत्वबाट पार्टी सुध्रन नसक्ने बताए । काँग्रेस नेता शुक्रराज शर्माले आफ्नै कारण कम्युनिष्ट सकिने भन्दै काँग्रेस सुध्रेर सवै जनताको भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा काँग्रेस नेता तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेताहरु खेमराज पौडेल, सोभियतबहादुर अधिकारी, देवराज चालिसे, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, प्रजातन्त्र सेनानी हिरामणि सुबेदी, महिला नेतृ शारदा पौडेल, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, नेपाली काँग्रेस क्षेत्र नं २ का सभापतिद्वय माधव वास्तोला मधु, विजयराज आचार्य, नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, नेपाली काँग्रेस पोखरा–११ का सभापति मोहन बास्तोला र बोधराज घिमिरेले बोलेका थिए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति आइबहादुर गुरुङले स्वागत र सचिव सुदीपमोहन भट्टराइले संचालन गरेका थिए ।